| बुधबार, कार्तिक २५, २०८३

शिबकुमारी भण्डारीद्धारा पत्रकार महासंघ गोरखाको भबन निर्माणमा नगद सहयोग

गोरखा नगरपालिका ६ पाटेचौरकी ८३ वर्षिय शिबकुमारी भण्डारीले पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि नगद १० हजार ५५ रुपैयाँ सहयोग गरेकी छिन् ।

गोरखा नगरपालिका ८ नगरपालिका जाने रोड नजिकै निर्माण हुँदै गरेको भबन पुरा गर्न आफुले थोरै सहयोग गरेको भण्डारीले बताईन । स्वर्गिय श्रीमान सोमबहादुर भण्डारीको सम्झनामा उनले उक्त रकम सहयोग गरेको बताईन ।

उक्त रकम शनिवार शिबकुमारीकी छोरी शुशीला भण्डारीले पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटालाई हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरण गदै उनले भनिन् ‘आम र म घुम्दै भबन बनेको तिर गएका थियौँ, यो पत्रकार महासंघको भबन बन्दैछ भने, आमाले मेरो तर्फबाट सहयोग गर्न चाहान्छु भन्नुभयो ।’ साथै उनले सबैलाई भबन निर्माणमा सहयोग गर्न अनुरोध समेत गरिन ।

पत्रकार महासंघ गोरखा शाखाले भबन निर्माण गरिरहेको छ । करिब ८० लाख लाग्ने अनुमान गरिएको भबन निर्माणमा गण्डकी प्रदेश सरकारबाट २० लाख, (गत र चालु आ.व) गोरखा नगरपालिकाबाट १३ लाख, (गत र चालु आ.व) शहीदलखन गाउँपालिकामा दुई लाख, पत्रकार महासंघका संस्थापक सदस्य पवनरमण खनालबाट २५ हजार प्राप्त भएको छ । गोरखाको पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका लगायतले पनि बजेट बिनियोजन गरेका छन् ।

अहिले सम्म करिब ४० लाखको मात्रै स्रोत सुनिश्चित भएको पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले बताए ।

साँढे २ तले भबन निर्माण पुरा गर्न रकम अभाव भएको छ । भबनमा रङरोगन, ट्वाईलेट, बाथरुम, झ्याल ढोका निर्माण, घेराबार, सिँढीबाटो निर्माण लगायतका काम बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्