
विकाससंग सम्बन्धित चारवटा विभागको नेतृत्वमा गोरखाली
भौतिक पूर्वाधार विकाससंग सम्बन्धित मुलुकका चार वटा विभागको नेतृत्व गोरखालीले सम्हालेका छन् । सबैभन्दा प्रभावशाली मानिने सडक विभाग, स्थानीय पूर्वाधार विभाग, खानेपानी विभाग र सिँचाइ बिभागका महानिर्देशक पद गोरखा निवासी राजपत्राङ्कित प्रथम श्रेणीका गोरखाली कर्मचारीले सम्हालेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको नेतृत्वमा सुशीलबाबु ढकाललाई नियुक्त गरेको छ । पालुङ्टार नगरपालिका २ रातडाँडाका ढकालले यसअघि आयोजना निर्देशनालय एडिवीको आयोजना निर्देशक पदमा रही कार्य सम्पादन गरेका थिए ।
त्यस्तै पालुङटार २ मरहट्टा गाउँका इश्वरचन्द्र मरहट्टाले स्थानीय पूर्वाधार विभागको नेतृत्व सम्हालेका छन् । यसअघि गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्थानीय पूर्वाधार विकास विभागको महानिर्देशक पदमा नियुक्त गरेको हो ।
खानेपानी विभागको नेतृत्व पनि गोरखालीले सम्हालेका छन् । खानेपानी मन्त्रालयले गण्डकी गाउँपालिका ५ दुर्वङ निवासी रमाकान्त दुवाडीलाई सो विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।
त्यस्तै सिँचाइ विभागको महानिर्देशकमा पनि गोरखाली नै रहेका छन् । मन्त्रालयले गोरखा नगरपालिका ७ धारापानीका सुशील आचार्यलाई सो विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिएको हो ।
पूर्वाधार विकास गर्ने चारवटै प्रमुख विभागको मूल नेतृत्व गोरखालीले सम्हालेको यो पहिलो पटक हो । यसलाई विकासको स्वर्णिम समय मान्न सकिने गोरखाका रामशरण आचार्यको भनाइ छ ।
‘देशकै नेतृत्व गर्ने प्रधानमन्त्री, विकास निर्माणका योजना कार्यान्वयन गर्ने मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि गोरखालीले सम्हालेको यो यसै पनि सौभाग्यको विषय हो’, उनले भने, ‘त्यसमाथि पनि विकास निर्माणसंग सम्बन्धित मुख्यमुख्य चारवटै विभागको नेतृत्व पनि गोरखालीले सम्हालेकाले यो गोरखालीका लागि स्वर्णिम समय हो ।’ यतिबेला गोरखाको विकास हिँड्ने होइन, दौडनु पर्ने उनले बताए ।
‘गोरखालीका लागि विकास निर्माणको काम गर्न यति ठूलो अवसर न भुतो न भविष्यति भन्न सकिन्छ’, उनले भने, ‘जादुको छाडीले झै एकैचोटी सबैथोक त हुँदैन, तर यो काम सुरुवात गर्न बाँकी छ भनेर भन्नु पर्दैन भन्ने विश्वास लिन सकिन्छ ।’
गोरखाका नेताहरु ठूलो ठाउँमा पुग्दा भन्दा पनि कर्मचारीहरु ठूलो ठाउँमा पुग्दा विकास निर्माणको अपेक्षा धेरै गर्न सकिने अर्का स्थानीय अनील कुँबर बताउँछन् ।
‘नेताहरुले भन्दा पनि विकासको मुल फुटाउने त कर्मचारीले हो, किनभने बजेट नै उहाँहरुको हातमा हुन्छ’, कुँबर भन्छन्, ‘उहाँहरुमा इच्छाशक्ति कति छ भन्ने कुरा हो । उहाँहरुले चाहनुभयो भने यतिबेला जिल्लाको मुहार फेर्न सक्नुहुन्छ ।’ यतिबेला हुन नसकेको विकास भावि दिनमा हुन नसक्ने उनले बताए ।
जिल्लाको सडकको क्षेत्रमा गर्नुपर्ने विकासका लागि आफूले सक्दो प्रयत्न गर्ने भर्खरै सडक विभागको नेतृत्व सम्हालेका सुशीलबाबु ढकालले बताएका छन् । जिल्लाभित्रका न्यून कार्यप्रगति भएका सडक योजनाहरु कुनै पनि बहानामा ढिला सुस्ती हुन नदिने उनले बताए ।




