| बुधबार, कार्तिक २५, २०८३

चुमनुब्रीमा पहिलोपटक सवारी साधन पुग्यो

गोरखाको चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छ । तिब्बतसँग सिमाना जोडिएको उक्त गाउँपालिकाको वडा नम्बर ३ जगतमा बुधवार पहिलो पटक गाडी पुगेको वडा अध्यक्ष रामकुमार गुरुङले बताए । नेपाली सेनाको विकास निर्माण निर्देशनालय अन्तर्गत बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलले सडक निर्माण गरेको हो ।

‘पहिलो पटक चुमनुब्रीको वडा नम्बर ३ मा गाडी पुगेको छ । अब हामीहरुलाई आउजाउ गर्न धेरै सहज हुनेभयो’, वडा अध्यक्ष गुरुङले भने । यसअघि दोभानसम्म मोटर चल्थ्यो । दोभानदेखि ८ किलोमिटर माथि पर्ने जगतबगरसम्म अहिले मोटर संचालनमा आएको हो । नेपाली सेनाले तिब्बत जोड्ने गरी उक्त सडक खण्ड निर्माण गरिरहेको छ ।

भौगोलिक बिकटताका कारण बेनिघाट–लार्के सडकको हावाडाँडादेखि लार्के खण्ड सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो ।

उक्त खण्ड अन्तरगतको १८ किलोमिटर सडक (धार्चे गाउँपालिका वडा नम्बर ८ हावाडाँडा देखि वडा नम्बर ३ दोभानसम्म) गत असारमा ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनालाई सेनाले हस्तान्तरण गरिसकेको छ । सेनाले अहिलेसम्म २६ किलोमिटर सडक सवारी आउजाउ गर्ने सक्नेगरी बनाइसकेको सेनाका प्राविधिक सेनानी बिनोद भट्टले बताए । ‘जगत बगरभन्दा माथि पनि ट्रयाक खुलिसकेको छ, निर्माणको चरणमा छौँ’ उनले भने ।

हावाडाँडादेखि लार्के भञ्ज्याङसम्मको ९२ किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई छ । आउजाउ गर्न सहज देखिएमा सेनाले जगतसम्मको सडक केही समयमा आयोजना कार्यालयलाई हस्तान्तरण गर्ने योजना बनाएको छ ।

‘बुधवार खाद्यान्न बोकेका केही गाडी सहित स्थानीय ब्यक्तिहरु, जनप्रतिनिधि जगतसम्म पुग्नुभएको थियो’, सेनानी भट्टले भने, ‘केही ठाउँमा बनाउनुपर्ने छ, त्यो बनाउँदै सर्वसाधारणका लागि खोल्दै पनि गर्छौँ ।’ आउँदो वर्षातको समयमा बिग्रन सक्ने सम्भावित ठाउँहरु पहिचान गरेर त्यसपछि मात्रै हस्तान्तरण गर्ने उनले बताए । त्यसमाथि पाङसिङसम्म छिट्टै सडक पु¥याउने गरी काम भइरहेको छ ।

२०५२ सालमा बेनिघाट–आरुघाट–आर्खेत सडक निर्माण सुरु भएको हो । २०६३÷०६४ मा बेनीघाट–लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक बिभागलाई निर्माणको जिम्मा दिइयो । २०६६÷०६७ मा सडक आयोजनाले निर्माण सुरु ग¥यो । मन्त्रिपरिषदको निर्णयबाट २०७३ मंसीर २६ गते हावाडाँडादेखि लार्केभञ्ज्याङ सम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले पायो । २०७४ बैशाख ११ गतेबाट सेनाले ट्रयाक खोल्न सुरु गरेको थियो ।

उक्त सडक खण्डको माछाखोलामा २४ टन क्षमताको बेलिब्रिज पनि निर्माण भएको छ । चुमनुब्री सडक सञ्जालले नजोडिँदा उत्तरी गोरखाका सर्वसाधारण ढुवानीमा खच्चड र उपचारमा हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता थियो । जगतसम्म गाडी पुगेपछि चुमनुब्री गाउँपालिकाको केन्द्र आसपासका स्थानीयलाई आउजाउ गर्न सजिलो हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्