| बुधबार, कार्तिक २५, २०८३

गोरखाको एकै पालिकामा ४ सांसद, नागरिकको आशा धेरै

यसअघिको प्रतिनिधिसभा र प्रदेश सभामा एउटा पनि सांसद नपाएको गोरखाको भीमसेन थापा गाउँपालिकाले यसपटक चारजना सांसद पाएको छ । प्रतिनिधि सभामा कांग्रेस र एमालेबाट एक एक जना प्रदेश सभामा माओवादीबाट दुई जना सांसद भीमसेन थापा गाउँपालिका भित्रका छन् ।

प्रतिनिधि सभामा प्रत्यक्ष, समानुपातिक गरी दुईजना, प्रदेश सभामा पनि प्रत्यक्ष र समानुपातिक गरी दुईजना सांसद चुनिए । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट चुनाव जितेका राजेन्द्र बजगाई भीमसेन थापा १ मसेलका हुन् ।
कांग्रेस र माओवादीको प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन भएको थियो ।

नेकपा एमालेबाट समानुपातिकतर्फ सांसद भएका परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि भीमसेन थापा गाउँपालिकाकै हुन् । उनी वडा नं. ८ का हुन् । परिवार दलका अध्यक्ष रहेका उनी चुनावमा एमालेसँग तालमेल गरी समानुपातिक कोटामा सांसद भए ।

गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ बाट सांसद विजयी भएका कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख छन् । माओवादीबाट उम्मेदवार बनेका उनको घर भीमसेन थापा गाउँपालिका २ तान्द्राङ हो ।

माओवादीको तर्फबाट समानुपातिक सांसद चयन भएकी भीमसेन थापा ४ धावाका शुसिला सिंखडा अहिले गण्डकी प्रदेश सभाको प्रमुख सचेतक छिन् । प्रदेश र संघमा प्रतिनिधित्व गर्ने एकै पालिकाको चार जना गोरखामा अन्य पालिकाबाट छैनन् ।
प्रतिनिधि सभा र प्रदेश सभामा एकै पालिकाबाट चार÷चार जना सांसद चयन भएपछि त्यस पालिका भित्रका स्थानीय विकासले गति लिनेमा आशावादी छन् ।

भीमसेन थापा गाउँपालिका २ का वडा अध्यक्ष नारायण भट्टराई भन्छन्, ‘विकास निर्माणको कामले गति लिन्छ कि भन्ने आशा जनतालाई र हामी जनप्रतिनिधिलाई पनि छ ।’ नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाको ऐतिहासिक जन्मथलो भएको यस गाउँपालिकामा सबै वडा जोड्ने गरी पक्की सडक मूख्य आवश्यकता रहेको उनले बताए । ‘तत्काल आवश्यकता पूरा गर्दै ठूला गौरवका योजना ल्याउन प्रदेश र संघीय सांसदको भूमिका महत्वपूर्ण हुनुपर्छ’, उनले भने, ‘गाउँमै रोजगारीको अवसर सिर्जना हुनुपर्छ, हामी धेरे आशावादी छौँ ।’

भीमसेन थापा ७ का वडा अध्यक्ष नारायण श्रेष्ठ भन्छन् ‘झिंगटे अश्राङ बोर्लाङ धावा हुँदै सिमलाफेद जोड्ने चक्रपथ सडकलाई कालोपत्रे गर्ने योजना तत्काल ल्याएर कार्यान्वयन गर्नुपर्छ ।’ गाउँपालिकाभित्र बूढीगण्डकी डुवानमा पर्ने ठाउँबाट मानिसहरु अन्यत्र जान थालेको बताउँदै उनले सोही वडा भित्रै पुनस्र्थापना गर्ने गरी योजना बनाएर काम थाल्नुपर्नेमा जोड दिए ।

साथै उनले आयोजनाको काम पनि छिटो अघि बढाउन सांसदहरुले दबाव दिनुपर्ने बताए । ‘घरघरै खानेपानी, सडकको स्तरोन्नती, कृषि सडक पक्की बनाउने, गाउँमै प्राविधिक विषय पढाउन सुरु गरिएको छ ती विद्यालयलाई साधन स्रोत सम्पन्न गर्ने काममापनि उहाँहरु लाग्नुहुन्छ भन्ने आशा छ’ श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्