
विकासकालागि कम्यूनिष्ट, कांग्रेस, सँगै हुनुपर्छ : नेता पाण्डे
गण्डकी प्रदेश संसदीय दलका नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले विकासकालागि कसैले पनि कम्यूनिष्ट, कांग्रेस भनेर बिचारलाई आधार बनाउन नहुने बताएका छन् ।
आईतवार पालुङटार नगरपालिका १० को मिरकोट माध्यामिक विद्यालयको ६२ औँ वार्षिकोत्सवमा बोल्दै उनले भने, ‘विद्यालय विकासमा सबै दलका नेताहरु, सामाजिक अगुवाहरु सबै एक ठाउँमा हुनुपर्छ ।’ विद्यालय मात्र नभएर समाजमा हुने सबैखाले विकासमा सबै एकजुट हुनुपर्ने उनले बताए ।
गोरखा २ ले प्रधानमन्त्री समेत पाएको प्रसंग जोड्दै उनले अहिले विकासले गति लिनेमा आशावादी रहेको बताए । ‘चुनावमा हामीसँगै थियो, परिस्थिति केही बद्लिएको थियो, फेरि संग्लिँदैछ, बिस्तारै फेरि एकै ठाउँमा हुने वातावरण आउँदैछ’, नेता पाण्डेले भने, ‘मत हाल्दा जनताले जे सोचेर, अपेक्षा गरेर हालेका थिए त्यही अनुसार हातमालो गरेर अघि बढ्नेछौँ ।’
स्थानीय तह, प्रदेश र संघले एक आपसमा मिलेर कुन काम कसले गर्ने भन्ने योजना बनाएर विकासमा अघि बढ्नुपर्ने उनले बताए । ‘पाँच वर्षमा नमुना लायक जिल्ला गोरखा बनाउने गरी हामी सहकार्य गरेर अघि बढ्छौँ’ उनले भने । आवश्यकता अनुसार स्रोत साधनको कमि भएको बताउँदै उनले बिस्तारै ब्यवस्थापन हुँदै जाने बताए ।
ग्रामीण भेगका विद्यालयमा विद्यार्थी संख्या घट्नुको मुख्य कारण गाउँमा रोजगारी र उत्पादन नहुनु रहेको उनले बताए । ‘सडक स्तरोन्नति भएको छ, विद्यालय पनि छ, अस्पतालहरु पनि छन् तर यहाँ रोजगारी छैन, मानिससँग पैसा छैन’, नेता पाण्डेले भने, ‘सडकबाट किन्ने चिजबस्तु मात्रै ल्याएका छौँ, केही पठाएका छौँ, अनि कसरी यहाँ अवसर सिर्जना हुन्छ ।’ गाउँबाट निर्यात गर्ने गरी उत्पादनमा जोड दिनुपर्ने र यसले विद्यालयहरुमा विद्यार्थीको संख्या समेत बढाउन मद्धत पुग्ने उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाले विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने र त्यसकालागि शिक्षक, अविभाबक सबै एकजुट हुनपर्ने बताए । वार्षिकोत्सव कार्यक्रममा पालुङटार नगरपालिका उपप्रमुख बन्दना पाण्डे, वडा अध्यक्ष ऋषिराज धौराली, प्रधानाध्यापक भुवन अधिकारी लगायतले मन्तब्य राखेका थिए ।




