
गोरखामा सहिदका नाममा संरचना बनाउँदै अलपत्र पार्दै
नेकपा माओवादी केन्द्र गोरखाले गोरखा नगरपालिका ८ रानीवनमा सहिद वासु स्मृतिपार्क निर्माण कार्य सुरु गरेको दसबर्षभन्दा धेरै भयो, अहिलेसम्म सम्पन्न भएको छैन । नेपाल सरकारको लाखौँको लगानीमा निर्माण भएका संरचनाहरु सम्पन्न नहुँदै क्षतिविक्षत भइसकेका छन् ।
उचित रेखदेख र स्याहारसम्भारको अभावमा पार्क जंगल जस्तो बनेको छ, भवनका झ्याल ढोका, वाइरिङ तोडफोड भएका छन् । संरक्षण नहुँदा भवन, प्रतीक्षालय तथा अन्य संरचना झाडीभित्र डुबेका छन् ।
माओवादी जनयुद्धकै प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा बारपाक सुलीकोट ८ जराङमा करोडौँको लागतमा स्मृतिपार्क बनिरहेको छ । गाउँपालिका र संघ सरकारको संयुक्त चार करोड रुपैयाँ लागतमा निर्माणाधीन दिलबहादुर रम्तेल स्मृतिपार्क अहिले निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिका प्रमुख विष्णु भट्टले जानकारी दिए ।
जिल्लाका नौ स्थानीय तह जितेका यहाँका माओवादीले जनयुद्धसंग जोडिएका शीर्षक बनाएर प्रसस्त बजेट बिनियोजन गरेका छन् । नौमध्य छ वटा पालिकाले गाउँसभा तथा नगरसभाबाट चालु आर्थिक बर्ष २०७९÷०८० मा जनयुद्धका शहीद, बेपत्ता तथा घाइतेका शीर्षकमा बजेट विनियोजन गरेका हुन् ।
‘भीमसेनथापा गाउँपालिकामा यस बर्षको बजेट तथा कार्यक्रममा जनयुद्ध जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिद तथा वेपत्ताहरुको सम्मानमा कम्तिमा एक वडा एक योजना तथा परियोजनाहरु सञ्चालन गरिनेछ’, गाउँपालिका प्रमुख लोकप्रसाद बञ्जराले भने ।
सहिदस्मृति गेट, सहितस्मृति चोक, सहितस्मृति पोखरी, सहिदस्मृति वाटिका र जनयुद्ध संग्रहालय निर्माण गर्न यसबर्ष बजेट विनियोजन गरेको उनले बताए । पालिकाभित्रका आठवटै वडामा गेट, चोक, पोखरी, वाटिका निर्माण शीर्षकमा आठलाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका प्रमुख लोकप्रसाद बञ्जराले जानकारी दिए । ‘मुलुकको परिवर्तनका लागि जनयुद्ध लड्दा सहिद तथा बेपत्ता हुने हाम्रो पालिकामा मात्र ३३ जना छन् ।
उहाँहरुको सम्मानमा सबै वडाहरुमा कुनै न कुनै संरचना बनाउने निर्णय भएअनुसार बजेट विनियोजन भएको छ’, बञ्जराले भने, ‘अनि जनयुद्ध संग्रहालय र भीमसेन थापा संग्रहालय बनाउने पनि निर्णय भएको छ । मुलुकमा परिवर्तनका लागि उनीहरुले ज्यान दिए, जीवन सुम्पिए । मैले नै परिबारै गुमाएँ ।
उहाँहरुलाई सम्झन कम्तिमा एउटा स्मारक त बनाउनु न्यायोचित नै हुन्छ ।’ यसलाई अन्यथा दृष्टिकोणले हेर्न नहुने उनको भनाइ छ । ‘कांग्रेस र जनयुद्धको जगमा यो अवस्थामा आएको माओवादी गठबन्धन गर्न हुन्छ, मिलेर सरकार बनाउन हुन्छ, देश चलाउन हुन्छ भने त्यही जनयुद्धका सहिदका नाममा बनेका स्मारक, स्मृति पार्क बनाउने कार्यक्रमहरुप्रति असहमति किन ? साँगुरो दृष्टिकोणले हेर्नु हुन्न ।’ त्यसैले आफूले पालिकामा जनयुद्ध संग्रहालय निर्माण शीर्षकमा चालु आर्थिक बर्ष १० लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।
जनयुद्ध दिवस र गणतन्त्र दिवसलाई पालिकाले भव्यताका साथ मनाउने निर्णय गरेको उनले बताए । सहिद तथा वेपत्ताको नाममा विभिन्न आयोजनाहरु संचालन गर्ने तथा सडक लगायतका आयोजनाहरुलाई सहिदको नाममा नामाकरण गर्ने योजना रहेको पनि उनले बताए ।
त्यस्तै गण्डकी गाउँपालिकाले सहिद स्मृतिपार्क शीर्षकमा चालु बर्ष २० लाख रुपैयाँ विनियोजन गरेको छ । पालुङटार नगरपालिकाले वडा नं. ८ मा सहिद स्मारक सौचालय निर्माण योजनाका लागि दुईलाख रुपैयाँ र वडा नं. २ मा सहिद चौतारो र्निर्माणका लागि एकलाख रुपैयाँ विनियोजन गरेको छ ।
शहिद तथा घाइते, बेपत्ता परिबार छोराछोरी विद्यार्थीहरुका लागि छात्रवृत्ति व्यस्थापन गर्ने सो पालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा सहिद पार्क निर्माण गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवस भव्य रुपमा मनाइने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
सहिद लखन गाउँपालिकाले प्रजातान्त्रिक आन्दोलन, दशबर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा पालिकाभित्रबाट सहादत पाएका सहिद, बेपत्ता, घाइते व्यक्तिको सम्मानका लागि प्रतिष्ठान बनाउने कार्यक्रम घोषणा गरेको छ ।
गोरखा नगरपालिकाले वडा नंं ८ मा सहिद प्रतिक्षालय(नानु) शीर्षकमा ५० हजार, वडा नंं १२ मा सहिद वाटिका सडकखण्ड स्तरोन्नति शीर्षकमा एकलाख, सोही वडामा सहिद स्मृति हल पुनर्निर्माणका लागि १० लाख र सोही वडामा सहिद स्मृति पार्क निर्माण(देउराली गाउँ) का लागि दुई शीर्षकमा छलाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै छापथोक सहिद प्रतिक्षालय निर्माणका लागि तीनलाख, वडा नं. १२ मा सहिद स्मृति सभाहल पुनर्निर्माणका लागि १० लाख विनियोजन गरेको छ ।
माओवादी जनयुद्धकालीन स्मारकहरुमा सबैभन्दा धेरै बजेट तथा कार्यक्रम बारपाक सुलीकोट गाउँपालिकाले विनियोजन गरेको छ । सहिदका नामका साना, ठूला गरी यसबर्ष त्यहाँ एक करोड एक लाख रुपैयाँ बिनियोजन गरेको सो पालिकाले जनाएको छ ।
माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा वडा नं. ८ जराङमा निर्माणाधीन दिलबहादुर रम्तेल स्मृतिपार्कका लागि यसबर्ष पनि सो गाउँपालिकाले दुई फरक शीर्षक बनाएर ४३ लाख रुपैयाँ विनियोजन गरेको छ । यो बिगत बर्षको निरन्तरता हो ।
त्यस्तै दिलबहादुर रम्तेल पार्कसम्म जाने सडक स्तरोन्नति गर्न ३० लाख र रम्तेल पार्कमा सिलालेख तथा सजावट शीर्षकमा बारपाक सुलीकोट गाउँपालिकाले पाँचलाख रुपैयाँ विनियोजन गरेको छ । सहिद दिलबहादुर रम्तेल स्मृति कप खेलकुद कार्यक्रमलाई १० लाख, सहिद बेपत्ता परिबार सम्मान कार्यक्रमका लागि दुईलाख रुपैयाँ विनियोजन गरेको छ । ‘यो संघ सरकार र स्थानीय तहको संयुक्त चार करोडको कार्यक्रम हो । ठेक्काको कामचाहिँ अब करिब करिब सम्पन्न हुदैछ’, अध्यक्ष विष्णु भट्टले भने, ‘वडाहरुले पनि सहिद, बेपत्ता तथा घाइतेहरुको स्मरणमा केही कार्यक्रमहरु गरेका छन् ।’
सो पालिकाको वडा नं. ६ ताकुकोटमा सहिदस्मृति भवन निर्माणका लागि छ लाख, वडा नं. ६ मै सहिद स्मारक निर्माणका लागि चार लाख रुपैयाँ विनियोजन गरेको छ ।
साथै वडा नं. ८ मा सहिद कौशिला तमु स्मृति प्रतिक्षालय निर्माणका लागि एकलाख ५० हजार रुपैयाँ बिनियोजन गरेको छ ।
गाउँ तथा नगरपालिकाले कुनै एउटा पार्टीको सहिद, बेपत्ता, घाइते आदिको नाममा बजेट छुट्याउनुलाई स्थानीय शासनसम्बन्धी विज्ञ खिमलाल देवकोटा सकारात्मक र नकारात्मक दुवै खालको मिश्रित प्रतिक्रिया दिन्छन् ।
एउटा पार्टीले जितेका बेला आफ्ना नेताका नाममा बजेट बिनियोजन गर्दा, अर्को पार्टीले जित्दा त्यही नजिर अनुसार अर्का नेताको नाममा बजेट बाँडफाँट गरेर राष्ट्रिय ढुकुटी सकिने खतरा आउने उनको भनाइ छ । सहिद, बेपत्ताकै नाममा पनि यदि उत्पादनसित जोडेर बजेट बिनियोजन गरिएको भए यसलाई सकारात्मक रुपमा लिन सकिने उनको भनाइ छ ।
यो पनि पढनुहोस्




