| बुधबार, कार्तिक २५, २०८३

चन्द्रज्योतीबाट मतदान केन्द्र वडा कार्यालय सार्ने निर्णयको बिरोध

गोरखा नगरपालिका ११ मा रहेको चन्द्रज्योती आधारभुत विद्यालयमा रहेको मतदान केन्द्र त्यहाँबाट गोनपा ११ को वडा कार्यालयमा सार्ने निर्णयको स्थानीयले बिरोध जनाएका छन् ।

राजनीतिक दलको वडा कमिटि, जनप्रतिनिधि, स्थानीय वुद्धिजिवी लगायतले बिरोध जनाएका हुन् ।
वडा कार्यालय हुँदै नगरपालिका मार्फत सिफारिस आएपछि मतदात केन्द्र हेरफेर गरिएको निर्वाचन कार्यालयले जनाएको छ । तर गोनपा ११ का वडा सदस्यहरुले उक्त निर्णय वडा समितिले नगरेको बताएका छन् ।

वडा सदस्य एवं गोरखा नगर कार्यपालिका सदस्य अप्सरा नेपाली, जिरसिंह तामाङ, रेनकुमार थापा मगरले निर्वाचन कार्यालयमा पत्राचार गर्दै मतदात केन्द्र स्थानान्तरणको निर्णय स्थगित गर्न माग गरेका छन् । वडा कार्यसमितिमा उक्त विषय जानकारी नगराएको र एक निर्णयले सिफारिस गरिएको उल्लेख छ ।

नेपाली कांग्रेस वडा नम्बर ११ का सभापति अनिल कुँवर, नेकपा एमालेका वडा अध्यक्ष भुबल बाबु बयलकोटी, माओवादी केन्द्र नगर कमिटि सदस्य बिमला श्रेष्ठ, एकिकृत समाजवादीका जिल्ला सचिवालय सदस्य गणेश गिरी लगायतले मतदान केन्द्र हेरफेर स्थगन गर्न निर्वाचन आयोगलाई अनुरोध गरेका छन् ।

मतदान केन्द्र हेरफेर गर्दा वडा तहदेखि सहमतीमा सर्वसम्मत निर्णय गर्नुपर्ने प्रक्रिया पुरा नगरी हेरफेर गरेको भन्दै स्थगन गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय, गोरखा नगरपालिका र जिल्ला निर्वाचन कार्यालयलाई बोदार्थ दिँदै उक्त पत्र निर्वाचन आयोगमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्