| बुधबार, कार्तिक २५, २०८३

सांसद र पालिका प्रमुखको समन्वय बैठक : बूढीगण्डकी आयोजना र ठोरी, गोरखा, लार्के सडक निर्माणलाई पहिलो प्राथमिकता

गोरखा क्षेत्र नं १ को प्रतिनिधिसभा तथा प्रदेश सभा सांसद र स्थानीय तहले तीन ठूला आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने निर्णय गरेका छन् ।

बुधबार र बिहिबार आयोजना गरिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद र स्थानीय तह प्रमुखहरुको समन्वयात्मक बैठकले तीन ठूला आयोजनालाई क्षेत्र स्तरको गौरवका योजना कायम गरी पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँ, प्रदेशसभा सांसद नन्दप्रसाद न्यौपाने र क्षेत्र नं। १ अन्तर्गतका सात पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुखहरुको समन्वयात्मक बैठकले राष्ट्रिय गौरवको योजना बूढीगण्डकी जलविद्युत आयोजना, ठोरी गोरखा, बजार, रुइलाभञ्ज्याङ सडक, बेनिघाट, आरुघाट, सिर्दिबास ङुइलाभञ्ज्याङ नाका जोड्ने सडकलाई प्राथमिकताका साथ अघि बढाउन प्राथमिकता दिने निर्णय गरेको हो ।

साथै हरेक पालिकाहरुको आवश्यकता र मागका आधारमा पर्यटन र पूर्वाधार विकासका लागि तीनै तहको संयुक्त सामथ्र्य जुटाएर सम्बन्धित निकायमा माग गर्ने निर्णय गरिएको सांसद बजगाईँले जानकारी दिए । गोरखा १ को विकासका लागि सम्भाव्यता अध्ययन गर्न विज्ञ नियुक्त गरिसकेको उनले बताए ।

बैठकमा धार्चे गाउँपालिका प्रमुख लक्ष्मण गुरुङ र चुमनुब्री गाउँपालिका प्रमुख निमा लामाले छुट्टै जिल्ला वा राजनीतिक अधिकारसहितको विशेष स्वायत्त क्षेत्र घोषणाका लागि जोड दिएका थिए । निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, तिब्बतसंगको सीमा नाका खुल्ला गर्न पहल गर्नुपर्ने लगायतका माग उनीहरुको थियो ।

स्थानीय तहसित जनताको धेरै अपेक्षा भएको तर स्रोतसाधन सीमित हुँदा कठिन भएको गुरुङको भनाइ थियो । आरुघाटदेखि माछाखोलासम्मको सडक कालोपत्रे गर्न पनि उनले माग गरे । जलविद्युत नै आम्दानीको स्रोत भएकाले २३२ केभीको सबस्टेशन बनाउन माग गरे । कर्मचारी आउनै गाह्रो मान्ने र आए पनि टिक्नै गाह्रो हुने उनको भनाइ थियो ।

चुमनुब्रीका अध्यक्ष लामाले सम्पदा सडक, वातावरण सडक निर्माण गर्नुपर्ने धारणा राखे । कर्मचारी नआउने, बल्लतल्ल आए पनि हाजिर गरेर फेरि सरुवा भइ जाने गर्दा काम गर्न समस्या भएको बताए । निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, सीमा नाका खुलाउनु पर्ने, सदरमुकाममा प्रतिबोरा सिमेण्ट सातसय रुपैयाँ पर्ने तर सामागाउँ, छेकम्पारमा सात हजार पर्ने उदाहरण दिँदै दुर्गमका लागि बजेट बढाउनु पर्ने बताए । उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाई लागु गर्नुपर्नेमा जोड दिए ।

सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले कर्मचारीहरुको ध्यान स्थानीय तहभन्दा प्रदेश र संघमा मात्र गएकाले स्थानीय तहमा टिकाइराख्न कठिन हुने बताए । साथै उनले लागत स्टमेट गाउँपालिकाले तयार गरिदिनु पर्ने, तर बजेट पर्ने र कार्यान्वयन गर्ने बेलामा जानकारी पनि नहुने, समन्वय पनि नहुने हुँदा कठिनाइ भएको बताए । उनले चालुतर्फको बजेट दर घटाएर पुँजीगत बजेट दर बढाउनुपर्ने बताए ।

आरुघाट गाउँपालिका प्रमुख राजु गुरुङले विकास पहुँचको आधारमा नभै आवश्यकताका आधारमा गर्नुपर्नेमा जोड दिए ।

भीमसेनथापा गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जराले साना योजनाले बजेट दुरुपयोग मात्र भएको, देखिने काम नभएको भन्दै संघले २५ लाख भन्दा बढिका, प्रदेश सरकारले १५ लाख भन्दा बढिका र पालिकाले पाँच लाख भन्दा बढिका योजना मात्र तय गरेमा देखिने विकास हुने तर्क गरेका थिए । अहिले राजनीतिक दल र सरकारप्रति सर्वसाधारको वितृष्णा जागेकाले धेरै सचेत र सतर्क भएर काम गर्नुपर्ने बताए । पहिले पालिकाको केन्द्र जोड्ने सडकलाई कालोपत्रे गर्ने र पछि वडा कार्यालय जोड्ने सडक कालोपत्रे गर्ने गरी काम गर्न उनले प्रस्ताब गरे । एक पालिका एक शव बाहन, एक ए ग्रेडको एम्बुलेन्स कार्यक्रम लागु गर्न पनि उनले माग गरे । कुनैपनि मूल्य, कुनैशक्ति लगाएर बूढीगण्डकी निर्माणको दिशातिर लैजान पहल गर्नुपर्नेमा उनले जोड दिए । साथै लगानी सम्मेलन गर्न पनि प्रस्ताब गरे ।

गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले आँबुखैरेनी गोरखा सडक राजमार्ग अन्तर्गत पर्ने र २५ मिटरभन्दा भित्रका घरहरु सडक क्षेत्राधिकारभित्र पर्ने हुँदा घर घडेरी वैँक धरौटी राख्न नमिल्ने गरेको, जसले गर्दा व्यवसायी पनि मारमा परेको र पालिकाहरुले पनि राजस्व असुल्न नपाएर दोहोरो समस्या परेको भन्दै सोलाई खुकुलो बनाउन पहल गर्नुपर्ने बताएका थिए ।
साथै उनले गोरखा विकासका सम्भावनाहरुको खोजी गर्नुपर्ने, जिल्लालाई विशेष गरी पर्यटन, कृषिमा व्यवसायिकीकरण, घरेलु उद्योग र रोजगार प्रवद्र्धन हुने खालका कार्यक्रम गर्नुपर्नेमा जोड दिए । ‘एउटा पालिकामा पाँचबर्षभित्र दुईवटा मात्र ठूला योजना सम्पन्न भयो भने पनि सातवटा पालिकामा १४ वटा ठूला योजना बन्नेछन्’, उनले भने, ‘प्राकृतिक स्रोतसाधन चोरी निकासीको समस्या बढिरहेको छ । बाह्रकिलोमा गोरखा नगरपालिकाले सटर बनाएर भाडामा लगाउन खोज्दा पनि वन कार्यालयले अबरोध गरेको छ । गोरखा दरबार क्षेत्रतर्फ विकास गर्न खोज्दा पुरातत्वले रोक्छ, तल्लो भेगमा विकास गर्न खोज्दा वन कार्यालयले रोक्छ ।’ विकासमा विभिन्न बाधा व्यवधान आइपरिरहेकाले त्यसलाई सहज बनाउन उनले माग गरे ।

गण्डकी गाउँपालिका प्रमुख दीपक तिमिल्सिनाले जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको सकारात्मक पहलले मात्र जिल्लाको विकास निर्माण सहज हुने तर्क गरेका थिए । साथै सिउरेनीटार, बुटार, रबर उद्योग सडक निर्माणमा जोड दिएका थिए । उनले गोरखा दरबार लगायतका सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा समाहित गर्न पहल गर्नुपर्ने, प्रांगारिक मल उत्पादनमा जोड दिनुपर्ने, गाउँमा युवायुवती रहने वातावरण बनाउन रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

कार्यक्रममा गोरखा नगरपालिकाकी उपमेयर सपना पुन, गण्डकीकी उपप्रमुख ललिता अधिकारी, सहिद लखनकी उपाध्यक्ष इन्दिरा तिवारी, भीमसेनथापाकी उपाध्यक्ष अमृता वस्ती, आरुघाटकी उपाध्यक्ष कल्पना नेपाली, धार्चेकी उपाध्यक्ष सुनिला गुरुङ र चुमनुब्रीकी उपाध्यक्ष लक्ष्मी गुरुङले संघ, प्रदेश र स्थानीय तह बीच समन्वय नभई बजेट बाँडफाँट गर्दा डुप्लिकेशनको जोखिम धेरै भएको औल्याएका थिए । आपसी समन्वयमा मात्र बजेट बाँडफाँट र अनुगमन गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
साथै कार्यक्रममा पालिकाहरुका प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, लेखा शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।

बैठकमा बोल्दै प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईँ र प्रदेश सभा सांसद नन्दप्रसाद न्यौपानेले स्थानीयतहसित समन्वय र सहकार्य गरेर मात्र काम गर्ने प्रतिवद्धता जनाएका छन् । विकासमा राजनीति आफूले पनि नगर्ने भन्दै पालिका प्रमुख उपप्रमुखहरुलाई पनि विकासमा राजनीति नगर्न आग्रह गरे । साथै उनले महत्वपूर्ण विषयमा सम्बन्धित निकायमा माग राख्न स्थानीय तहका प्रमुखहरुका साथ जाने उनले आस्वस्त पारेका छन् । कांग्रेस र माओवादीको मतले आफू विजयी भएकाले दुवै पार्टीसंग सहकार्य गरेर काम गर्ने उनले अठोट गरेका छन् ।

त्यस्तै प्रदेशसभा सांसद न्यौपानेले वृहत्तर हितका काममा एउटै पार्टीको कुरा नसुन्ने प्रतिवद्धता जनाएका छन् । परस्पर सहकार्य, समन्वय, सहअस्तित्व स्वीकार गरेर अघि बढ्ने उनको भनाइ छ । जनप्रतिनिधिलाई सफल बनाउन कर्मचारीको समेत महत्वपूर्ण भूमिका हुने हुँदा भरपुर सहयोग गर्न उनले कर्मचारीलाई पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्