
गोरखा लाप्राकमा मकै विवाह सम्पन्न(फोटो फिचर)
माघ शुल्क पुर्णिमा तिथि पारेर धार्चे गाउँपालिका ४ लाप्राकका किसानहरुले आइतबार प्रमुख बाली मकैको बिउ जमिनमा गाडे, कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर सोमबार धुमधामले मकैको विवाह सम्पन्न गरेका छन् ।
बिहे नगरी मकै रोप्नु हुन्न भन्ने धार्मिक, साँस्कृतिक मान्यता अनुसार लाप्राकीले सोमबार मकै बिहे गरेका हुन् । ‘मकैको बिहे गरेपछि अब बल्ल बारीमा रोप्ने काम सुरु हुन्छ’, स्थानीय मार्सिङ गुरुङले भने, ‘यसपालि पानी पनि परेन । मकै रोप्नचाहिँ अल्लि ढिलो हुन्छ होला । लगन छोप्न मात्र बिहे गरेको हो ।’

उनका अनुसार सोमबार लाप्राकका गाउँले नै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका हुन् । गाउँले सबै मकैको जन्ती गए, मकैको भोज भतेर खाए, नाचगान गरे ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ । अरु गाउँमा अनुकूलको लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन् ।

प्रकृति पुजक यहाँका बोन धर्मावलम्बीहरु मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रुपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । मकैको उब्जनी राम्रो होओस्, असिना पानीले नष्ट नगरोस्, रोग नफैलियोस भनेर यहाँ मकैको विहे गर्ने गरेको अर्का स्थानीय राम गुरुङ बताउँछन् ।
ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ ।
विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूलोआँगनमा जम्मा हुन्छन् । अनि सिंगारेर एकजना बालकलाई डोलीमा राखेर ढ्याङ्ग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित जन्ती जाने गर्छन् । ठूलो आँगनबाट मनिडाँडा हुदै केही पर जंगलमा बेहुली घरका रुपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ ।

जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन् । जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङको भनाइ छ ।
बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाँचसँगै मकै विहे समापन हुने अर्का स्थानीय गुरुङ बताउँछन् ।

‘यो पुरानो परम्परा हो, यसरी मकैको विहे गरेपछि बल्ल मकै लगाउन सुरु हुन्छ । विहे नगरी मकै लगाउदा अशुभ हुन्छ भन्ने मान्यता छ’, गुरुङले भने ।
‘यो एउटा प्राकृतिक पूजा हो, वर्षेनी माघ १५ गतेदेखि फागुन १५ गतेसम्ममा लगन जुराएर मकै बिहे गर्ने चलन छ’, गुरुङले भने । मकै बिहे गरेपछि मात्र मकै रोप्ने चलन रहेको उनले बताए ।
धार्चे गाउँपालिकाले मकै विहेलाई प्रवद्र्धन गर्न वृत्तचित्र बनाएको छ ।



तस्बिरः सन्त बहादुर गुरुङ÷सिर्जन गुरुङ




