
गोरखाका नयाँ प्रजिअ दिनेशसागर भुषाल तोकिए
गोरखाका लागि नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोकिएका छन् ।
गृहमन्त्रालयले कर्णाली प्रदेशमा कार्यरत सह सचिव दिनेशसागर भुषाललाई गृहमन्त्रालयमा तानेर गोरखा पठाइएको हो ।
मन्त्रालयले बिहिवार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्राचार गर्दै प्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयबाट गोरखाको प्रमुख जिल्ला अधिकारीको रुपमा भुषाललाई पठाइएको जनाएको छ ।
माघ ६ गते गृहमन्त्रालयले बिभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओको सरुवा गरेको थियो । त्यतिबेला गोरखाका लागि सरुवा भएका सिडियो लालबाबु कवारीलाई पुनः गृहले फिर्ता गराएपछि गोरखा प्रजिअबिहिन भएको थियो ।
गोरखामा सरुवा भएका सहायक प्रजिअ पुष्कर राना पनि बिहिवारसम्म हाजिर भएका छैनन् । निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी अधिकृत गणेशप्रसाद भट्टराईले सम्हाल्दै आएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित जिल्ला, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको गृहजिल्ला गोरखामा प्रजिअबिहिन भएको बारे जिल्लामा चर्चा चलेको थियो ।




