
मध्यपहाडी लोकमार्गको गोरखा खण्ड : सडक निर्माण सुस्त, म्याद थपेको थप्यै
आठ वर्षमा आठौँ पटक म्याद थप्दा पनि गोरखाको आरुघाटदेखि ओख्ले खण्डमा अझै काम पूरा भएको छैन । २५ करोड ४२ लाखमा १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको रसुवा ईलाईट सूर्य जेभीले अहिलेसम्म ८० प्रतिशत काम मात्रै गरेको छ । बिगतजस्तै वर्षको १० प्रतिशत काम मात्रै भयो भने अझै दुईवर्ष यो खण्ड कालोपत्रे हुने छाँटकाँट छैन । उक्त खण्डमा अहिले काम नभएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका इन्जिनियर बिदुर सुवेदीले बताए ।
२०७२ माघमा ठेक्का सम्झौता भएको ओख्लेदेखि निवेल खण्डको आधाआधी मात्रै काम भएको छ । सातवर्ष अहिले ५७ प्रतिशत मात्रै प्रगति रहेको कार्यालयले जनाएको छ । २०८० असार ८ गतेसम्म पाँचौँ पटक म्याद थप गरेर निर्माण कम्पनी सूर्य कन्टूक्शनले काम गरिरहेको छ । ३२ करोड ९१ लाख रुपैयाँमा सम्झौता भएको उक्त खण्ड पनि अलपत्र छ ।
आयोजना कार्यालयले यो दुबै ठेक्कालाई ‘क्रोनिक ठेक्का’को सूचीमा राखेको छ । लामो समयसम्म काम नहुँदा मध्यपहाडीको गोरखामा पर्ने एउटा पनि खण्डमा पुरा काम भएको छैन ।
यहाँ मध्यपहाडीको करिब ६३ किलोमिटर सडक पर्छ ।
पालुङटार नगरपालिकादेखि चेपेसम्मको पाँच किलोमिटर सडक २०७२ सालमै सम्झौता भएर काम सुरु भएको हो । ८३ प्रतिशत काम सकेर निर्माण कम्पनी बज्रगुरु द कन्चनजंगा शंकरमाली जेभीले यसै छाडेको छ । त्यहाँ काम भएको छैन । २०७९ माघ २३ गते सम्म निर्माण सम्पन्न गर्ने गरी ३५ करोड ४४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको लागि यसअघि म्याद थप भएको थियो ।
मसानेठाँटीदेखि पालुङटारसम्मको १६ किलोमिटर सडक र निबेलदेखि मसानेठाँटीसम्मको १२ दशमलव ३ किलोमिटर सडक कालोपत्रेको सम्झौता २०७७ असारमा भएको हो । दुईवर्षभित्र सम्पन्न भएपछि यो दुबै ठेक्काको म्याद २०८० असारसम्म थपिएको छ ।
मसानेठाँटीदेखि पालुङटार खण्डमा १९ प्रतिशत र निबेलदेखि मसानेठाँटी खण्डमा ४८ प्रतिशत काम भइसकेको आयोजना कार्यालयका इन्जिनियर बिदुर सुवेदीले बताए । यो दुबै खण्डमा काम भईरहेको छ । मसानेठाँटी पालुङटार खण्डमा घना जंगल र रुखहरु धेरै पर्ने भएकाले कामको गति ढिला भएको थियो । अहिले रुख काट्ने अनुमति आइसकेको र टाँचा लाईसकिएकाले कामले गति लिने उनले बताए । सडकको दायाँबायाँ भएका रुखहरु डिभिजन वन कार्यालय र उपभोक्ता समितिको समन्वयमा काट्ने तयारी भईरहेको वन कार्यालयले जनाएको छ ।
पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका प्रमुख सुनिल रंजितकारले कार्यालयले पटक(पटक पत्राचार गरेर तत्काल काम गर्न निर्माण कम्पनीलाई भनिरहेको बताए । ‘अहिले काम सबैमा सूरु भएको हुनुपर्छ’ उनले भने ‘काम गर्नुहोस् भन्ने हो, काम नगरेमा अन्तिम बिकल्प कालोसुचीमा राख्ने बाहेक हामीसँग अन्य अधिकारी हुँदैन ।’ सबै खण्डमा अहिले काम गर्न आएकाले केही समयमा प्रगती देखिन सक्ने उनले बताए । ‘धेरैजसो खण्डको काम अन्तिम चरणमा पुगेको छ, केही समय काम गर्दा सकिन्छ’ उनले भने ।




