
उत्तरी गोरखालाई स्वायत क्षेत्रको घोषणा गर्न माग
उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकालाई स्वायत्त क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेका छन् । नेपाली कांग्रेस धार्चे गाउँकार्यसमितिको आयोजनामा माछाखोलामा भएको नेपाली काँग्रेस धार्चे गाउँ कार्य समिति र भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको संयुक्त वैठकमा उक्त प्रस्ताव आएका हो ।
कार्यक्रममा स्थानीय शासन ऐन २०७४ अनुसार गोरखालाई दुर्गम भत्ता विहिन हिमाली जिल्ला सूचिकृत भएकोमा दुर्गम भत्ता सहितको हिमाली जिल्ला घोषणा गर्नुपर्र्नेे र पाँच वर्षमा संघ र प्रदेशबाट धार्चेमा गरिनुपर्ने विकास आयोजनाहरु टिपोट वडास्तरबाट गर्ने निर्णय भएको नेपाली कांग्रेसका पालिका सभापति सन्तोष गुरुङले बताए ।
उहियाबेसीको तातोपानीलाई व्यवस्थित गर्न आधा किलोमिटर अन्डरग्राउण्ड नुहाउने ठाउँ बनाउन प्रदेशस्तरको गौरवशाली योजना रुपमा पहल गर्ने, धार्चे गाउँपालिकाको विकास निर्माण कार्य, दैनिक सेवा प्रवाह, सुशासनका बारेमा गाउँपालिकालाई ध्यानाकर्षण गराउने निर्णय गरेको नेपाली काँग्रेस धार्चे गाउँपालिकाका सभापति गुरुङले बताए ।
वैठकले पार्टी छाडेकालाई कारवाहीको सिफारिस गर्ने निर्णय पारित गरेको छ । धार्चेका सभापति सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।




