
पुष्कर तीर्थमा हरेक दिन गोरक्षआरती हुने
गोरखा सदरमुकामको पँदेलीस्थित पुष्करतीर्थ(रानीपोखरी) मा हरेक दिन ‘गोरक्षआरती’ हुने भएको छ । स्थानीयले ‘पुष्करतीर्थ आरती समिति’ गठन गरी फागुन ६ गते महाशिवरात्रीको दिनदेखि गोरखनाथलाई समर्पण गरी ‘गोरक्षआरती’ गर्ने निर्णय गरेका हुन् ।
‘यो हाम्रो ऐतिहासिक र धार्मिक परम्परा पनि हो’, समितिका अध्यक्ष भगवानबाबु मास्केले सोमवार पत्रकार सम्मेलन आयोजना गरी भने, ‘गोरखामा पर्यटन भित्र्याउन र आएका पर्यटक टिकाउनका लागि पनि आरती एउटा माध्यम हुन सक्छ ।’
गोरखा देवी देवताको पवित्र ठाउँ, ऐतिहासिक पुण्य भूमि, गोरखकाली, गोरखानाथ मन्दिर रहेको ठाउँ भएकाले पनि यहाँ नियमित आरती गर्दा जिल्लाबासीलाई पनि फाईदा पुग्ने मास्केले बताए । ‘गोरखालाई गोरक्षभूमिको रुपमा लिइने भएकाले यहाँ गोरक्ष आरती गर्न लागिएको हो’, उनले भने, ‘सँगसँगै अन्य देवीदेवताको पनि जयजयकार हुनेछ ।’
नियमित आरती गर्न गोरक्षनाथ वैद्धिक गुरुकुलसँग सहकार्य गरिनेछ । गुरुकुलका बटुकहरुले नियमित आरती गर्नेछन् । आरती समिति, द्विजबन्धु सांस्कृतिक समाज, गोरक्ष धाम लगायत, संघसंस्था, सरकारी निकाय र ब्यक्तिहरुको सहयोगमा नियमित आरती सञ्चालन गर्ने समितिका सचिव अयोध्या जोशीले बताए । आरतीका लागि गोरखा नगरपालिका ६ पँदेली निवासी नवीनकुमार श्रेष्ठले तीनसेट आरती सामग्री सहयोगस्वरुप उपलब्ध गराइसकेका छन् ।
‘शिवरात्रीको दिनबाट सुरु गर्ने हुँदा उक्त दिन मेलाको रुपमा हामीले आरती सुरु गर्ने योजना बनाएका छौँ’, आरती समितिका अध्यक्ष भगवानबाबु मास्केले भने ।
पशुपतिमा जस्तै गरी आरती नियमित संचालन गर्ने योजना अनुसार त्यहाँबाट प्रशिक्षण दिन अनुरोध गरिएको र केहीदिनमै गोरखा आएर प्रशिक्षण दिने आश्वासन आएको उनले बताए ।
दैनिक आरती संचालन गर्नु खर्चिलो रहेकाले यसलाई निरन्तरता दिन सबै पक्षले होस्टेमा हैँसे गर्नुपर्ने समितिका सल्लाहकार मोहनलाल श्रेष्ठले बताए । ‘यसको फाईदा गोर्खालाीलाई हुन्छ, सबैले आरती नियमित संचालन गराउन पहल गर्नुपर्छ’ उनले भने ‘पर्यटक एक, दुई दिन बसे भने पनि यहाँका मानिसहरुले फाइदा लिन सक्छन् ।’ आरतीका लागि अक्षयकोष स्थापना गर्न सकेमा नियमित रुपमा संचालन गर्न दीगो उपाय हुने उनले बताए ।
पितृको सम्झना, जन्मउत्सवमा वा अन्य बिभिन्न समयमा ब्यक्ति वा संघ संस्थाले पनि निश्चित शुल्क तिरेर आरती गर्न सक्नेछन् । त्यसकालागि न्यूनतम आरती गर्दा लाग्ने शुल्क लिएर संचालन गर्ने योजना समितिको छ । सबैले सहजै हेर्न सक्ने गरी पुष्करतीर्थबाट गोरखनाथगुफा तथा गोरखकाली मन्दिरतर्फ फर्किएर आरती गरिनेछ । हरेक साँझ आरती गर्न आधाघण्टा समय लाग्छ । अहिले तीनसेट आरती घुमाईने समितिका सचिव अयोध्या जोशीले बताए ।
नियमित आरती खर्च, बटुकहरुको पारिश्रमिक, साउण्ड सिस्टम, तेल, भाँडावर्तन, बत्ती लगायत आवश्यक बस्तुको जोहो आरती समितिले गर्नेछ ।
आरती नियमित संचालन गर्न स्थानीयले समिति निर्माण गरेका छन् । समितिको सचिव अयोध्या जोशी, कोषाध्यक्ष कमला श्रेष्ठ रहेका छन् । नवीनकुमार श्रेष्ठ, दीपकबाबु श्रेष्ठ, श्यामबाबु श्रेष्ठ, चन्दनबाबु खत्री, विश्वेश्वर श्रेष्ठ, बिष्णु मास्के, सविता श्रेष्ठ, किरण अर्याल र विकास मरहट्टा सदस्य रहेका छन् ।
आरती समितिमा मोहनलाल श्रेष्ठ, इन्दु सिंह र राजुबाबु श्रेष्ठ सल्लाहकार रहेका छन् ।




