
यो वर्ष पनि कालोपत्रे हुने छाँटकाँट छैन घ्याम्पेशाल–ताकुकोट सडक, कसैलाई टेर्दैनन् ठेकेदार
निर्माण ब्यवशायीले काम नगर्दा गोरखाको घ्याम्पेशाल–पाँचखुवा–देउराली–ताकुकोट सडक समयमै कालोपत्रे हुन सकेन । कालोपत्रे सकिनुपर्ने बेला अहिलेसम्म सो खण्डको काम सुरु भएको छैन । नाला निर्माण, सडक बिस्तार लगायतका ५० प्रतिशत मात्रै काम भएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ ।
२९ करोड ७७ लाख रुपैयाँमा ८ दशमलव ६३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा बिरुवा÷वाईवा एण्ड लामा जेभीले लिएको थियो । २०७७ साउन १४ गते सम्झौता भएको उक्त काम २०७९ साउन ६ गते सम्पन्न गर्नुपथ्र्यो । काम नसकेपछि २०८० बैशाख २४ गते सम्मकालागि पुन म्याद थप भएको छ । सम्झौता गरेको समय अवधिभित्र जम्मा ५० प्रतिशत मात्रै प्रगति गर्ने निर्माण कम्पनीले थप समयमा पूरा गर्नेमा स्थानीयबासीको शंका छ ।
वर्षातको समयमा उक्त सडक हिलाम्य हुँदा यात्रुबाहक सवारी आउजाउ गर्न मुस्किल पर्छ । बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र र वडा कार्यालयमा जानेहरुले दुःख पाउँदै आएका छन् । आउँदो बर्षातमा पनि पहिलेको दुःख दोहोरिने भएको छ ।
निर्माण कम्पनीलाई पूर्वाधार बिकास कार्यालयले पटक–पटक पत्राचार गरेको छ ।
कामको गति सुस्त भएको, साईटमा कामदार नभेटिएको, यन्त्र उपकरण, सामग्रीहरु नदेखिएको भन्दै पत्राचार गर्दापनि कम्पनीले काम नगरेको पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले बताए । ‘के कति कारणले काम नभएको हो, काम नगर्नेलाई कारवाही किन गर्नुनपर्ने भनेर स्पष्टिकरण सोधेका छौँ’ उनले भने ।
कार्यालयलाई नटेरेका निर्माण कम्पनीले गाउँ पालिकालाई पनि टेरेनन् । सडक निर्माण ढिला हुँदा सास्ती भएको गुनासो दिनहुँ वडा र पालिकामा सर्वसाधारणले गर्न थालेपछि बारपाक सुलिकोट गाउँपालिकामा बैठक भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि, पूर्वाधार बिकास कार्यालय, गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट सहितको उपस्थितिमा भएको छलफलमा निर्माण ब्यवशायीले तत्काल काम थाल्ने प्रतिवद्धता जनाएका थिए ।
मेसिनहरु ल्याएर काम सुरु गर्ने, कालोपत्रे थाल्ने, अहिले थप भएको समयमा काम सिध्याउने निर्णय बैठकमा भएको थियो । बैठक सकेर गएपछि निर्माण कम्पनीले निर्णय गरे अनुसार कुनै काम नगरेपछि सर्वसाधारण आक्रोशित छन् ।
‘सदरमुकाम जाने सडक पनि उस्तै छ, गाउँपालिकातर्फ जाने पनि हिलो र धुलो उस्तै छ’, बारपाक सुलिकोट ७ का वडा अध्यक्ष कृष्ण गुरुङले भने । निर्माण ब्यवशायीका कारण जनताले धेरै दुःख पाएको बताउँदै उनले अहिले पनि काम ठप्प रहेको बताए । यो गतीमा काम हुने हो भने अझै वर्षौँ लाग्नेछ । निर्माण कम्पनीले जनप्रतिनिधिलाईपनि बारम्बार ढाँटेका छन् ।




