
खोर्लाबेसीमा आधारभूत रक क्लाइम्पिङ तालिम सुरु
धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा आधारभूत रक क्लाइम्पिङ तालिम सुरु भएको छ । साहसिक पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाको आयोजना तथा यात्री ट्रेकिङ कम्पनीको व्यवस्थापनमा बिहिबारबाट तालिम सुरु भएको हो ।
माघ १२ गतेबाट सुरु भएको तालिम १४ गते सकिने धार्चे गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ । नेपालकै प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङको नेतृत्वमा तालिम सुरु भएको छ ।

तालिममा वडा नं १ देखि ७ वडासम्मका २५ जनाको सहभागिता रहेको पालिका अध्यक्षका स्वकीय सचिव राज गुरुङले बताए ।
रक क्लाइम्बिङ सिक्न इच्छुक भएका र यही क्षेत्रमा केही गर्छु भन्ने व्यक्तिहरुलाई तालिम दिएको उनले बताए ।
रक क्लाइम्पिङ क्षेत्रमा आवद्ध धार्चेका ८ जनाको टोली प्रशिक्षार्थीहरुलाई तालिम दिइने गुरुङले जानकारी दिए ।

साहसिक पर्यटकहरुका लागि खोर्लाबेसीको भीरमा रक क्लाइम्बिङ गर्न धेरै सहज हुने भएकाले मनास्लु पदमार्ग भएर जाने पर्यटकले पनि रक क्लाइम्बिङको मज्जा लिन सकिने उनले बताए ।
यहाँ अघिल्लो वर्ष रुट निर्माणको काम सम्पन्न भएको थियो ।

नेपालको प्रसिद्ध मनास्लु पदमार्गमा पर्ने खोर्लाबेशीको रक क्लाइबिङका कारण पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने पालिकाले विश्वास लिएको छ ।




