| बुधबार, कार्तिक २५, २०८३

जफत गर्दा ५२३ केजी, लिलाम गर्दा ३४० मात्रै, कता हरायो १८३ केजी कुट्की !

गोरखामा सरकारी कार्यालयबाटै १८३ केजी कुट्की (जडिवुटी) गायब भएको छ । पाँचसय २३ किलो कुट्कीकालागि लिलाम आह्वान गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना सम्पर्क कार्यालय गोरखाले अन्ततः तीन सय ४० किलो भन्दा कुट्की लिलाम दावी गर्ने ब्यवशायीलाई दिन सकेन ।

२०७८ मंसीर २२ गते धार्चे गाउँपालिकाको माछाखोलाबाट प्रहरीले पाँचसय २३ किलो कुट्की बरामद गरेको थियो । अवैध रुपमा संकलन गरिएको कुट्की प्रहरीले मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालय गोरखाको जिम्मा लगायो । प्रहरीले पाँच सय २३ किलो तौल गरेर आयोजनाको जिम्मा लगाएको एसपी केदार खनालले बताए ।

कार्यालयले कुट्की मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) सँगको सहयोगमा मासिक पाँच हजार भाडा एमक्यापले तिरिदिने गरी स्टोर गरेर राख्यो । अन्ततः चारपटक लिलामकालागि सुचना प्रकाशित गर्नुपरेको सम्पर्क कार्यालयका प्रमुख पशुपति अधिकारीले बताए । तीनपटक प्रतिकिलो एक हजार चारमा बोलपत्र आह्वान गरिएको थियो । कुनैपनि ब्यवशायी इच्छुक नभएपछि चौँथो पटक शंसोधन गरेर प्रतिकिलो सात सय १० कायम गरियो । त्यसपछि जुङगाङ जडिबुटी तथा कृषि पशुपंक्षी प्रालिले लिलामको टेण्डर पा¥यो ।

कम्पनीका संचालक धार्चे ५ माछाखोलाका मानबहादुर गुरुङले पाँचसय २३ किलो कुट्कीको तीन लाख ७१ हजार आठ सय ५३ रुपैयाँ राष्ट्रिय बाणिज्य बैंक मार्फत राजस्व खातामा जम्मा गरे । पाँच हजार पाँच सय ८० आयकर पनि दाखिला गरे । उनी पाँचसय २३ किलो कुट्की लिन मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालयमा पुगे । कुट्की बोरामा थियो । आफुले राजस्व तिरेको पाँच सय २३ किलो परिणाम नपुग्ने आशंका उनलाई लाग्यो । ‘सबै कुट्की तौल गर्दा तीन सय ४० मात्रै पुग्यो, एक सय ८३ केजी पुगेन’ उनले भने ‘तीन लाख ७१ हजार आठ सय ५३ रुपैयाँ मैले धेरै तिर्नुप¥यो ।’ कार्यालयले कम तौललाई धेरै देखाएर आफुलाई धेरै राजस्व तिराएकाले फिर्ता पाउनुपर्ने माग उनको छ ।

कार्यालय प्रमुख पशुपति अधिकारीले भने राजस्व खातामा गईसकेकाले उक्त रकम फिर्ता नहुने बताए । तौल घटेको विषयमा भने उनले प्रहरीले जफत गर्दा अनुमान गरेको हुन सक्ने बताए । ‘केही किलो त घट्यो पनि होला, तर यो अनुपातमा घट्नु पर्ने होईन, यकिन तौल प्रहरीले नलिएको हुन सक्छ ।’ प्रहरीले भने पाँचसय २३ तौल यकिन गरेर आयोजनाको सम्पर्क कार्यालयलाई बुझाएको दावी गरेको छ । कार्यालयले लिँदा तौल नगरी लिइएको अधिकारीले बताए । उनले अहिले कुड्की तीन सय ४० किलो मात्रै भएकोपनि स्वीकार गरे । तर कसरी भयो भन्नेमा अनविज्ञ छन् ।

एक सय ८३ किलो कुट्कीको राजस्व फिर्ता वा थप कुट्कीको परिणाम नपुग्दासम्म आफुले उक्त सामग्री आयोजनाको सम्पर्क कार्यालयबाट नउठाउने ब्यवशायी मानबहादुर गुरुङले बताए ।

उक्त कुट्की घ्याल्जेन लामाबाट प्रहरीले जफत गरेको थियो । चैत २३ गते मुद्धा फैसला हुँदा उनलाई सामग्री जफतसाथै ३८ हजार जरिवाना गरिएको थियो । जरिवाना पनि पाँच सय २३ केजीलाई नै आधार बनाएर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्