| बुधबार, कार्तिक २५, २०८३

दुईसय बर्ष पुरानो हिनाङ पुङ्जे गुम्बा जलेर नष्ट, सांसद तथा जिल्लाका प्रशासकद्वारा घटनाको अवलोकन

चुमनुब्री २ हिनाङमा अवस्थित दुईसय वर्ष पुरानो पुङ्जे गुम्बा जलेर नष्ट भएको छ । विसं. १८७० सालमा निर्माण भएको पुङ्जे गुम्बा मंगलबार दिउँसो तीनबजेदेखि राति १० बजेसम्म सात घण्टा जलेर नष्ट भएको वडा अध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले जानकारी दिए ।

विद्युत सर्ट भएर आगालागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए ।
अहिले ध्वस्त भएको सो गुम्बाको भवन भूकम्पपछि २०७५ सालमा पुनर्निर्माण भएको थियो ।

वुद्ध धर्मावलम्बीहरुका लागि गुम्बा आस्थाको केन्द्र हुने भएकाले गुम्बा ध्वस्त हुँदा कति क्षति भयो भनेर रकममा अनुमान गर्न नसकिने गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । ‘यो गुम्बा नुब्री क्षेत्रकै प्राचीन मध्यको एक गुम्बा हो । यो ध्वस्त हुँदा स्थानीयबासी मर्माहत भएका छन् ।

यसको क्षतिलाई रुपैयाँ पैसामा दाँज्ने कुरै भएन’, उनले भने, ‘यो गुम्बाको भवन, फर्निचर मात्र क्षति भएको होइन, यहाँका बासिन्दाको आस्थाको धरोहर गुमाउनु पर्दा अपार क्षति भएको छ ।’ यसको पुनर्निर्माणका लागि पालिकाको तर्फबाट केन्द्रमा पहल गर्ने उनले बताए ।

गुम्बाभित्र रहेका सबै सामान जलेर नष्ट भएको घटनास्थल पुगेर फर्किएका शिवहरि तिमिल्सिनाले बताए । ‘ढुंगा र माटो बाहेक त्यहाँ जल्न मिल्नेजति सबै जलेको छ’, उनले भने, ‘मान्छेहरु रोएर बसिरहेका छन् ।’ गुम्बाभित्र रहेका अमूल्य धर्मग्रन्थ, मूर्ति, धार्मिक वाद्यवादन तथा महत्वपूर्ण लिखतलगायतका सामान जलेर नष्ट भएको तिमिल्सिनाले बताए ।

आसपासमा रहेका ल्हो, ल्ही, र स्यो बस्तीबाट गएका बासिन्दाले राति १० बजेतिर आगो निभाएका गाउँपालिकाका अध्यक्ष लामाले बताए । लगातारको प्रयासपछि आगो निभाउन सफल भए पनि आगो निभाइसक्दा सबै क्षति भइसकेको उनले बताए ।
यो गुम्बा नुब्री क्षेत्रकै प्राचीनमध्यको एक मानिन्छ । माने घुम्न ल्हो, स्यो, ल्ही गाउँका ज्येष्ठ नागरिकहरु यो गुम्बाको आसपासमा आवासीय रुपमा बस्छन् । अरु धेरै भिक्षु पनि त्यहाँ बस्छन् ।

समुद्री सतहबाट ३३०० मिटर उचाइमा रहेको हिनाङ पुग्न गोरखा सदरमुकामबाट तीनदिन पैदल यात्रा गर्नुपर्छ ।
यसैबीच आगलागीबाट भएको क्षती र गुम्बाको अवस्था बुझ्न त्यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँ तथा प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेसहितको टोली बुधबार त्यहाँ पुगेको छ । दुईवटा हेलिकोप्टर चार्टर गरी दुईजना सांसद, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी प्रमुख एसपी केदार खनाल, वडा अध्यक्ष मिङ्ग्यूर दोर्जे लामा, पूर्व वडाअध्यक्ष पेम्बारेता र प्रमुख लामा लाक्पा नोर्बु सहितको टोली हिनाङ पुगेका हुन् ।

सयौँवर्ष पुरानो गुम्बा आगलागीबाट करोडौँको क्षति भएको वडा अध्यक्ष लामाले बताएका छन् । दुवै जना सांसदले गुम्बाको यथासीघ्र पुनर्निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

आगलागी भएको गुम्बा हेरेर फर्किएपछि प्रदेश सांसद न्यौपानेले भने, ‘त्यहाँका स्थानीयको आस्थाको धरोहर गुम्बा आगलागीले स्थानीय चिन्तित छन, मैले मेरो तर्फबाट के गर्नु सक्छु त्यो पहल गर्छु भनेर आएको छु ।’ गुम्बामा आगलागी हुँदा करोडौँको क्षति भएको र साथै स्थानीलाई मानसिक रुपमा पनि ठुलो क्षति पुगेको उनले बताए ।

‘३० करोड भन्दाबढिको क्षति भएको स्थानीयले भन्नुभएको छ’ प्रजिअ आचार्यले भने, ‘त्यहाँको ऐतिहासिक, धार्मिक पुस्तक, मूर्ति, बिभिन्न सामग्री बहुमुल्य रहेछन् ।’ प्रहरी मुचुल्का आउन बाँकी रहेको उनले बताए ।
प्रहरी प्रमुख एसपी केदार खनालले गुम्बाको क्षतीको बिवरण प्रहरीले शंकलन गरिरहेको बताए । साथै स्थानीयले आगो निभाएकै कारण अन्य क्षति भने जोगिएको बताए ।

प्रतिक्रिया दिनुहोस्