
ढिला गरी उत्तरी गोरखामा हिमपात सुरु
यसबर्ष उत्तरी गोरखामा ढिला गरी हिमपात सुरु भएको छ ।
समुद्री सतहबाट ३५०० देखि ३८०० मिटर उचाइका सामागाउँ, साम्दो लगायतका गाउँमा हिउँ पर्न सुरु गरेको चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।
‘सामागाउँमा अलिअलि, साम्दोमा अलिधेरै परेको छ’, उनले भने, ‘हिउँ नपरेको भए सुख्खा बढेर, धुलो उँडेर हैरान भएको थियो । आगालागीको डर थियो । अब त्यो डर हटेको छ ।’

बुधबार बिहान पाँचबजेदेखि नै हिउँ परेको हो । यसअघि गत सोमबार पनि हिउँ परेको थियो । हिउँ परेपछि खेतीपाती राम्रो हुने भन्दै स्थानीयबासी खुशी भएका अर्का स्थानीय छिरिङ लामाले जानकारी दिए । ‘त्यति धेरै त परेको छैन, अलिअलि परेको हो’, उनले भने, ‘हिउँ परेपछि अलिअलि न्यानो पनि बढ्छ ।

खेती पनि राम्रो हुन्छ । त्यही भएर किसानहरु खुशी भएका छन् ।’ बिहानेखि अहिलेसम्म करिब एकफिट हिउँ परेको उनले बताए ।

तस्वीरहरु : निमा दोर्जे लामा, छिरिङ धार्के लामा।




