| बुधबार, कार्तिक २५, २०८३

पालुङटार नगरपालिकाको अर्धवार्षिक समीक्षा : बित्तीय प्रगति ३० प्रतिशत, पूर्वाधारका काम धमाधम

गोरखाको पालुङटार नगरपालिकाले अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको छ । १२ औँ नगरसभाको अवसरमा मंगलवार नगरपालिकाले विषयगत शाखाहरुको समीक्षा कार्यक्रम गरेको हो ।

साउनदेखि पुस महिनासम्म पालुङटार नगरपालिकाले ३० प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको लेखा अधिकृत सुवन शर्माले बताए । ‘यो अहिलेसम्मको वित्तीय प्रगति हो’, उनले भने, ‘भौतिक प्रगति अझै धेरै छ, करिब ५० प्रतिशत काम सकिएको हुनुपर्छ ।’

योजनाका धेरै काम धमाधम अघि बढेको उनले बताए । चुनाव, चाडपर्वले वित्तीय प्रगति केही कम देखिएको बताउँदै उनले धेरै काम अन्तिम चरणमा पुगेकाले आर्थिक प्रगति छिट्टै बढ्ने बताए । पालुङ्टार नगरपालिकाको चालु वर्षको बजेट ९७ करोढ ६८ लाख रहेको छ । दुई करोड ६० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिकाले ७१ लाख ८४ हजार आम्दानी गरेको छ । ढुङ्गा गिटीको ठेक्का सम्झौताको चरणमा रहेकाले लक्ष्य अनुसार आन्तरिक आम्दानी हुने लेखा अधिकृत शर्माले बताए ।

सोही अवसरमा पालिका भित्रका सबै शाखाले साउनदेखि पुससम्म संचालन भएका कार्यक्रम, हरेकको बजेट, अहिलेसम्मको उपलब्धी, कुन कार्यक्रम सम्पन्न भयो कुन बाँकी छ ? भन्ने विषयमा प्रस्तुतीकरण गरेका थिए । हरेक कार्यक्रमपिच्छे नगरसभा सदस्य, राजनीतिक दलका प्रतिनिधि छलफल गरेका थिए ।

के कारण कार्यक्रम हुन सकेन, कस्ता कार्यक्रम कुन वडामा कसरी संचालन भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो । कुन कार्यक्रम प्रभावकारी भएको, कुन लक्षित समुहसम्म नपुगेको भन्ने विषयमा पनि सहभागी बीच प्रश्नोत्तर चलेको थियो ।

कृषि, पशु शाखाका कार्यक्रम सच्चा किसानले अझै थाहा नपाउने भएकाले अनुदान, बिउ, कृषियन्त्र दिँदा सहज ब्यवस्था हुनुपर्ने, कागजाताको झन्झटिलो ब्यवस्था हटाउनुपर्नेमा स्वय वडा अध्यक्षहरुले विषय उठान गरे ।
लेखा, कृषि, पशु, रोजगार, स्वास्थ्य लगायत बिभिन्न शाखाले आफ्नो काम र प्रगतिको बारेमा जानकारी गराएका हुन् । प्रस्तुतीकरणमा उठेका केही विषय शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।

नगर प्रमुख एवं समीक्षा कार्यक्रमका अध्यक्ष बिवस चिन्तनको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायतले उठेका समग्र विषयका बारेमा सहजिकरण गरेका थिए ।

नगरभित्रको गतिविधि सबै नगरसभा सदस्य, राजनीतिक दलमार्फत नगरबासीलाई थाहा दिन समीक्षा कार्यक्रम गरिएको नगरप्रमुख चिन्तनले बताए । समीक्षा कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति बिमल ढकाल, नेपका एमालेका नगर अध्यक्ष बसन्त श्रेष्ठ, माओवादी केन्द्रका नगर सचिव शंकरराज कँडेल, एकीकृत समाजवादीका गोरखा इन्चार्ज जुद्धविलास भण्डारी लगायतको उपस्थिति थियो । उनीहरुले नगरपालिकाले संचालन गरेका कार्यक्रमहरुको बारेमा जिज्ञासा साथै सुझाव दिएका थिए ।

सबैबाट आएको सुझाव अनुसार नगरसभाबाट निर्णय गरेर अघि बढिने नगरप्रमुख चिन्तनले बताए । पालुङटार नगरपालिकाले बुधवार नगरसभा गर्दैछ । हिउँदे नगरसभा विषेशतः कानुन बनाउने सभा भएकाले जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण हुने प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । नगरपालिकाले नगरसभाबाट बिभिन्न ऐन, नियम, र विधेयकहरु पारित गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्