
गोरखा नगरपालिकाभित्रका ठूला घाटको ठेक्का लागेन, आन्तरिक आम्दानी घट्ने संकेत
गोरखा नगरपालिकाभित्रका ठूला घाटको ठेक्का नलाग्दा आन्तरिक आम्दानीमा असर पर्ने भएको छ । १४ वटै ठेक्का लागेमा नगरपालिकालाई तीन करोड ५० लाखभन्दा बढि आन्तरिक आम्दानी हुने अनुमान गरिएको थियो, तर अहिलेसम्म साना तीनवटा ठेक्का मात्र स्वीकृतको चरणमा छ । यी ठेक्काबाट करिब २३ लाख राजस्व नगरपालिकालाई प्राप्त हुनेछ ।
पुस ९ गते नगरपालिकाले १४ वटा घाटको ठेक्का आह्वान गरेकोमध्ये पाँचवटा ठूला घाटको ठेक्का दाखिला गर्ने अन्तिम म्याद माघ ५ गतेसम्म थियो । उक्त अवधीमा एउटा पनि फर्म दाखिला भएन । ‘ती पाँचवटा ठूला ठेक्काको एउटा पनि फर्म खरिद नै भएन, खरिद नभएपछि दाखिला हुने कुरै भएन’ गोरखा नगरपालिकाका राजस्व शाखाका किरण कट्टेलले भने ।
दरौँदी नदीको बेनीखोला घाट ७२ लाख ३१ हजार सात सय ७० रुपैयाँ, हात्तिशेरा घाटको ६९ लाख न्यूनतम मूल्य कायम गरेर बोलपत्र आह्वान गरिएको थियो ।
अढाईगाउँ घाट र राईपाली घाटमा ४५÷४५ लाख, गंगटेखोला घाटको ठेक्का ३९ लाख न्यूनतम शुल्क राखेर नगरपालिकाले बोलपत्र आह्वान गरेको थियो । यी पाँचवटामा ठेक्का नलाग्दा दुई करोड ७० लाख राजस्व गुम्ने खतरा छ । ठेक्का नलागेमा नगरपालिकाले जिल्लामा संचालन हुने ठूला बिकासे आयोजनालाई नदीजन्य सामग्री बिक्री गर्ने योजना बनाएको छ ।
यो बाहेक पनि नगरपालिकाले अन्य नौ वटा घाटको ठेक्का आह्वान गरेको थियो । चारदेखि १५ लाख भित्रका नौ घाट मध्ये पनि तीनवटाको मात्रै ठेक्का लाग्यो । दरौँदी नदीको भेसेटार घाट, मस्र्याङ्दीको शाहघाट र नारीमा घाटको ठेक्का लागेको हो । यो तीनवटा ठेक्काको करिब २३ लाख ५० हजार न्यूनतम रकम राखेर बोलपत्र आह्वान गरिएको थियो ।
६ वटा अन्य १५ लाख भन्दा मुनिका ठेक्कापनि निर्माण कम्पनीले दाखिला गरेनन् । नगरपालिकाले पुनः बोलपत्र आह्वान गरेको छ । दरौँदी नदीको पुरानो साँघु घाट, बेनिखोला घाट, नन्दकेशरी घाट, कर्मशिंङ्ग घाट, मस्र्याङ्दी नदीको रामशाह घाट, जुम्लाङ्ग घाटको ठेक्का लागेको छैन । बेनीखोला घाट र जुम्लाङ्ग घाटको ठेक्कामा कागजात नपुगेको भन्दै नगरपालिकाकाले बोलपत्र प्रक्रिया रद्ध गरी नयाँ सुरु गरेको जनाएको छ ।
यो पनि पढनुहोस्




