
घोडाबाट खानेपानी ओसार्दै दुर्गम स्योका बासिन्दा
शिव उप्रेती :
गण्डकी प्रदेश सरकारले पाँचबर्षअघि एकघर एकधाराको कार्यक्रम लागु ग¥यो । केही ठाउँमा यो कार्यक्रम सफल पनि भएको छ तर दुर्गममा रहेको चुमनुब्री गाउँपालिका २ स्योका बासिन्दा आधाघण्टाको बाटो पर गण्डकी पारिबाट घोँडालाई बोकाएर ल्याएको खानेपानीले गुजारा गर्न बाध्य छन् ।
लामो समयदेखि हिउँदे बर्षा र हिमपात नभएर खानेपानीको मुल सुकेपछि गाउँलेले खानेपानीको अभाव झेल्न थालेका पूर्व वडाअध्यक्ष पेम्बारेता लामाले जानकारी दिए ।
स्यो गाउँमा ५५ घरधुरी छ । गाउँमा खानेपानी आयोजना नभएको र नजिकको प्राकृतिक मुहान पनि सुकेका कारण खानेपानी बूढीगण्डकी पारिको पुवाङबाट घोँडालाई बोकाएर ओसार्न बाध्य भएको लामाको भनाइ छ ।
‘घोँडा हुनेहरु घोँडा लिएर पानी बोक्न पुवाङ जान्छन् । घोँडा नहुनेहरु ठूलो ग्यालिनलाई नाम्लोले बाँधेर पानी बोक्छन्’, लामा भन्छन्, ‘घरमा छोरामान्छे हुनेहरुलाई त ठिकै भयो, महिला र बुढाबूढी मात्र हुने घरमा त धेरै समस्या भएको छ ।’ घोँडामा पानी बोक्नेहरुले दयामाया गरेर बुढाबूढीलाई अलिअलि पानी दिने र त्यसैबाट गुजारा गर्ने गरेका उनले बताए । ‘पानी पनि तेल जस्तै भएको छ’, उनले भने ।
गाउँको खानेपानीको मुहान सातबर्षअघिको भूकम्पका कारण सुकेको उनले बताए । ‘पहिले त नजिकै पानीको मुहान थियो । अहिले भूकम्पले गर्दा मुहान सुक्यो’, वडा सदस्य छिरिङ सुम्बेल भन्छन्, ‘घरमा बलियो छोरामान्छे हुनेले गण्डकी पारिको पुवाङबाट ग्यालिनमा भरेर घोडालाई बोकाएर पानी ल्याउने गरेका छन् । घरमा महिला, बुढाबूढी मात्र भएकालाई साह्रै समस्या छ ।’
गण्डकी प्रदेशको जलस्रोत, उर्जा तथा खानेपानी मन्त्रालयले वृहत चुमनुब्री खानेपानी आयोजना सञ्चालन गरेको थियो । तर स्यो गाउँ आयोजनाबाट छुटेको छ ।
यहाँ खानेपानी ल्याउन स्याला खोलाबाट ल्याउनु पर्ने हुन्छ । त्यहाँबाट गाउँसम्मको दुरी करिब सात किलोमिटर भन्दा धेरै रहेको छ । गाउँपालिका तथा वडास्तरबाट यति धेरै टाढाबाट पानी ल्याउन नसक्ने र प्रदेश तथा संघ सरकारले दुर्गमको दुख नदेखेको उनको भनाइ छ ।




