
केरौजाबासी भन्छन्, गाउँ बगाउने पानी छ, पिउने पानी छैन
शिव उप्रेती :
हरेकबर्ष बर्खा लागेपछि धार्चे २ केरौंजागाउँमा बाढीपहिरो चल्छ । बिगत सातबर्षदेखि अहिलेसम्म डेढसय भन्दा धेरै घर बाढी, पहिरोले बगाइसकेको छ । बाढी र पहिरोको जोखिमका कारण भूगर्भविदले बस्ती स्थानान्तरणका लागि सिफारिस गरेको छ । पाँचसय १८ घरधुरीमध्य सरकारको सहयोगमा यहाँबाट १३७ घर लामावेशीमा स्थानान्तरण भएका पनि छन् ।
स्थानान्तरण हुन अनिच्छुक केरौंजावासी अहिले खानेपानीको अभाव झेलिरहेका छन् । ‘पानी छैन भनुँ, गाउँ बगाउने पानी छ, छ भनुँ भने मान्छेले खाने पानी छैन’, वडाअध्यक्ष सरोज गुरुङ भन्छन् ।
त्यसअघि सञ्चालित खानेपानी आयोजना २०७२ सालको भूकम्पले नष्ट पारिदिएको थियो । त्यसपछि आएका एक सामाजिकसंस्थाले पाइप मात्र उपलब्ध गराएको थियो । ‘त्यही पाइपमा ल्याएको पानी गाउँको दुई ठाउँमा खुल्ला धारा बनाइएको छ’, स्थानीय अर्जुन गुरुङ भन्छन्, ‘पाँचसय घरधुरीले त्यही दुईवटा धाराको प्रयोग गर्छन् । साह्रै समस्या छ । सरकारले सुरु गरेको आयोजना पनि लथालिङ्ग भएको छ ।’
उनीहरुमा खानेपानीको चर्कै समस्या देखेपछि गण्डकी प्रदेश सरकारले उनीहरुका लागि २०७७÷०७८ मा केरौंजा वृहत खानेपानी आयोजना आरम्भ ग¥यो । पाँचसय १८ घरधुरी लाभान्वित हुने गरी दुईबर्षअघि सुरु गरिएको सो आयोजना अहिलेसम्म प्रगति नहुँदा स्थानीय उपभोक्ता समस्यामा छन् ।
दुईबर्षदेखि सुरु भएको खानेपानी आयोजना कता अड्केको हो भन्ने बारे जनप्रतिनिधिहरुले खोजतलास गरिदिनु पर्ने स्थानीय इन्द्र गुरुङको भनाइ छ । ‘चार करोड रुपैयाँको खानेपानी आयोजना दुई बर्षदेखि अड्केको छ । कहाँ अड्केको हो भनेर बुझ्न वडाअध्यक्षभन्दा माथि हाम्रो पहुँच छैन’, उनले भने, ‘भर्खर चुनाव सकिएको छ । जनप्रतिनिधिहरुले यसको बारेमा खोजतलास गरेर जहाँ अड्केको भए पनि काम छिटोछरितो हुने वातावरण गरिदिनुहुन्छ कि भन्ने आशा गर्दछु ।’
योजना दिने, सरकारले बजेट नदिने गरेका कारण तीनचार बर्षअघि सुरु गरिएको योजना अहिलेसम्म प्रगति नभएको वडाअध्यक्ष गुरुङको भनाइ छ । ‘तीनचार बर्षअघिदेखि केरौंजा वृहत खानेपानी योजना भनेर चालु छ’, उनी भन्छन्, ‘छ न त छ, तर कता छ, कता छ । बजेटै आउँदैन रहेछ ।
पाँच करोड लागत स्टिमेट गरिएको योजना हो तर यसबर्ष जम्मा १० लाख मात्र आएको छ । यस्तो तालले आयोजना सम्पन्न हुन ४०, ५० बर्ष लाग्छ ।’ दुर्गम केरौंजाका बासिन्दाको पानीको समस्यालाई मध्यनजर गरी सम्बन्धित निकालय छिटो भन्दा छिटो आयोजना सम्पन्न गर्नुपर्ने माग आफूहरुको रहेको उनको भनाइ छ । प्रदेश सरकारले ३७७ घरधुरीका लागि तीन करोड २७ लाख रुपैयाँको केरौंजा वृहत खानेपानी योजना स्किम १ सञ्चालन गरेको थियो । त्यस्तै लामावेशीका १३७ घरधुरीका लागि स्किम २ सञ्चालन गरेको थियो ।
खानेपानी डिभिजन कार्यालय गोरखाका अनुसार स्किम १ मा अहिलेसम्म मुहान र रिजर्भ ट्याङ्क निर्माणको काम भएको छ । स्किम २ मा भने मुहानको मात्र काम भएको छ । ‘५१८ घरधुरीमध्य ३७७ घरधुरीका लागि र १४१ घर धुरीका लागि दुईवटा स्किम बनाएर काम सुरु गरिएको हो’, कार्यालय प्रमुख किरण पौडेल भन्छन्, ‘स्किम १ मा मुहानको ट्याङ्की र त्यहाँदेखि रिजर्भ ट्याङ्कीसम्मको काम सम्पन्न भएको छ ।
स्किम २ माचाहिँ मुहानको ट्याङ्की बनाउने काम मात्र भएको छ ।’ तीन करोड २७ लाख रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनामा पहिलो बर्ष ४७ लाख रुपैयाँ मात्र निकासा आएको र दोस्रो बर्ष २३ लाख अनुदान आएको उनले बताए । ‘यो बर्ष त झन् जम्मा १० लाख मात्र आएको छ । बढाएर काम गरे भने २० लाख निकासा दिने वातवरण बनाउन सकिएला’, उनले भने ।




