
गोरखा बजारलाई सम्पदा बस्ती बनाउनेबारे छलफल
नेपाल एकीकरणको जग गोरखा बजारलाई सम्पदा बस्ती निर्माण गर्नेबारे छलफल भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले सम्पदाबस्तीका जानकार रवीन्द्र पुरीको उपस्थितिमा सो बिषयमा छलफल गरेको हो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले गोरखा वीरताको इतिहासका दृष्टिले विश्वमा परिचित नाम भएकाले यसको प्राचीन स्वरुपलाई जगाउन लागिपर्नुपर्ने बताएका थिए । यसअघि जति नाश भए, तिनलाई पुरानै संरचनामा पुनर्जीवन दिने र, बाँकी रहेका संरचनालाई अब नष्ट हुन नदिने बिषयमा स्थानीयबासी सहमत भएका थिए ।
यसका लागि सम्पदा बस्ती निर्माण गर्न पूरा गर्नुपर्ने प्रक्रियाका बारेमा स्थानीयबासी स्पष्ट हुनुपर्ने श्रवण जोशीले बताए । ‘सम्पदा बस्तीको मापदण्ड अनुसारको घर त बनाउने, तर सँधै जाँतो झुण्ड्याएर मुन्तिर सुतेजस्तो हुन्छ भने किन बनाउने ?’, उनले प्रश्न गरे, ‘भूकम्प प्रतिरोधी हुन्छ कि हुन्न, यसको मजबुदीको बिषयमा के ग्यारेण्टी छ ?’
अर्का स्थानीय रामचन्द्र आचार्यले पनि सम्पदा बस्ती केलाई मान्ने भनेर जिज्ञासा राखे । ‘अहिले प्राचीन घरको नमूना एउटा पनि जीवित छैन । राम शाहको पालाको घरलाई सम्पदा बस्ती भन्ने कि, पृथ्वीनारायण शाहको पालाकोलाई वा एकसय बर्षअघिको जस्तो वा आयातित मोडलको घरलाई त्यो प्रष्ट हुनुपर्छ’, आचार्यले भने, ‘सम्पदा बस्तीको मापदण्ड पूरा गर्न धेरै महंगो पर्छ । त्यसमा व्यक्ति, समुदाय र सरकारी दायित्व कसरी बाँडफाँट हुन्छ ? त्यो पनि प्रष्ट हुनुपर्छ ।’ गोरखा दरबार बनाउँदा राजबोटे जंगल स्वाहा भएको, तल्लो दरबार बनाउँदा डण्डीडाँडा जंगल स्वाहा भएको उल्लेख गर्दै उनले अब मापदण्डअनुसारको सम्पदा बस्ती बनाउन कहाँको जंगल प्रयोग गर्ने भन्दै प्रश्न गरे ।
स्थानीयबासीले चाहेमा गर्न नसक्ने केही नहुने भन्दै अर्का स्थानीय मोहनलाल श्रेष्ठले त्यसका लागि स्थानीयको अठोट, विज्ञको सहयोग र स्थानीयको होस्टेमा सरकारको हैँसेको खाँचो रहेको बताए । भइरहेको घरलाई प्राविधिक सुझाव अनुसार थोरै लगानीमा पनि मापदण्ड पु¥याएर सम्पदा बस्तीको स्वरुप बनाउन सकिने उनको सुझाव छ ।
अर्का स्थानीय धिरजबहादुर मास्केले प्राचीन सम्पदा भन्दा पनि सुविधाका दृष्टिले घर बनाउँदा गोरखाको प्राचीन पहिचान मेटिँदै गएको भन्दै अब विज्ञ र सरकारको सहयोगमा पुनः प्राचीन शैलीका घरहरु बनाउन सकिने औंल्याए । त्यस्तै अर्का वक्ता कुलनारायण जोशीले आफ्नो घर, आफ्नो ठाउँ बनाउन स्थानीयबासीको अठोटको खाँचो रहेको भन्दै नत्र बाहिरका मान्छेलाई भित्र्याएर प्राचीन सम्पदाबस्ती बनाउन दिन तयार हुनुपर्ने बताए ।
अर्का स्थानीय सितलकाजी मास्केले घरमात्र नभै सम्पदा बस्तीका लागि मठ, मन्दिर, धारा, कुवा, पाटीपौवा पनि सोही मापदण्डअनुसार पुनर्निर्माण गर्नुपर्ने औँल्याए । साथै इश्वरकाजी मास्केले गोरखालाई सम्पदा बस्तीको रुपमा विकास गर्न आफूहरुलाई हुटहुटी लागेकाले त्यसको प्रक्रियाबारे ‘चरणवद्ध रुपमा’ गर्नुपर्ने कामहरुका बारेमा जानकारी दिन माग गरे ।
रामशरण आचार्यले त्यसका लागि गुरुयोजना बनाउनु पर्ने र सो कामका लागि कतिसम्म खर्च लाग्ने भन्ने जानकारी दिन माग गरे । रामबाबु जोशीले सम्पदा बस्ती निर्माण गर्नु अति महत्वपूर्ण काम भएकाले यसका बारेमा चरवद्ध छलफल गर्नुपर्ने आवश्यकता औँल्याए ।
साथै शरदवावु श्रेष्ठले गोरखा बजारलाई प्राचीन सम्पदाको स्रोतकेन्द्रका रुपमा विकास गर्नुपर्ने तर्क गर्दै सम्पदा बस्तीमा डिजिटल लाइब्रेरी पनि आवश्यक पर्ने बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रममा अध्यक्ष सुरेशमान श्रेष्ठले सम्पदा बस्तीका लागि स्थानीयबासीले गरेको होस्टेमा सरकारी तथा गैरसरकारी निकायबाट हैँसे गर्नुपर्ने बताए । अहिले गोरखाबाट प्रधानमन्त्री, उपप्रधानमन्त्रीसमेत भएकाले सम्पदा बस्ती निर्माणका लागि यो अवसर नचुकाउने बताए ।
गोरखा नगरपालिकाकी उपमेयर सपना पुनले सम्पदा बस्तीको अवधारणाका बारेमा स्थानीय तह तथा सर्वसाधारण तहमा पनि प्रष्ट पारी अघि बढ्न सुझाव दिइन् । यसका लागि पटक पटक यस्ता कार्यक्रम गर्नुपर्ने तर्क गरिन् । स्थानीय सरकारको दायित्व बारे अवगत गराएमा सो दायित्व पूरा गर्न स्थानीय सरकार पछि नहट्ने बताइन् ।
नगरपालिकाका मेयर कृष्ण रानाले गोरखाबाट प्रधानमन्त्री, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री र प्रदेशको समेत प्रभावशाली प्रतिनिधित्व हुने हुँदा यो अवसरमा निर्णय गरेर अघि बढेमा ठूलै उपलब्धी हाँसिल गर्न सकिने बताए । ‘जिल्लाको अनुहार भनेको त्यसको सदरमुकाम हुन्छ । त्यसैले सदरमुकामलाई सुन्दर बनाउन मिहिनेत गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि यो अत्यन्त अनुकूल समय छ, किनभने यतिबेला गोरखाबाटै जितेका जनप्रतिनिधि प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्छ । प्रदेशमा पनि सशक्त प्रतिनिधित्व हुनेछ । मौका भन्ने कुरा एक पटक आउँछ त्यसलाई समात्न सकिएन भने फेरि त्यस्तो मौका आउन समय लाग्न सक्छ अथवा मौका नआउन पनि सक्छ ।’
गोरखाको विकास पर्यटनबाट सम्भव भएकाले त्यसका लागि सम्पदा बस्ती बनाउनु उत्तम हुने भन्दै उनले त्यसका लागि स्थानीय सरकार हरदम तत्पर रहेको बताए ।

सम्पदा बस्तीका विज्ञ रवीन्द्र पुरीले गोरखामा सम्पदा बस्ती बनाउने हो भने यहाँ पर्यटकको ओइरो लाग्ने सुनिश्चित रहेको दाबी गरे । यसै पनि गोरखाको महिमा सर्वोत्कृष्ठ रहेकाले यसमा अलिकति मिहिनेत गर्ने हो भने यहाँ थामिनसक्नु पर्यटक आउने उनको भनाइ छ । सम्पदा बस्तीको ढाचामा बनेका संरचना भूकम्प प्रतिरोधी हुने हुँदा यसमा शंका नगर्न प्रष्ट पारे । काठमाडौँमा पनि सम्पदा बस्तीको मोडलमा घर बनाउन चाहनेलाई ३२ लाख रुपैयाँसम्म नगरपालिकाले अनुदान दिने हुँदा यहाँ पनि त्यसको व्यवस्था हुने बताए ।
‘सौभाग्यवश यहाँबाट निर्वाचित व्यक्ति नै प्रधानमन्त्री, उपप्रधानमन्त्री भएकाले सम्पदा बस्तीका लागि ठूलो टेवा पुग्नेछ’, उनले भने, ‘त्यतिमात्र नभै पर्यटन विभाग, पुरातत्व विभाग, प्रदेश सरकार, स्थानीय सरकार, युनेस्कोले पनि सहयोग गर्नेछन् । गुरुयोजना लगायतका प्राविधिक सहयोग हामी निशुल्क गरिदिनेछौँ ।’ निमन्त्रण गरे आफू नियमित गोरखा आएर आफूसित भएको सम्पूर्ण ज्ञानसीप आदानप्रदान गर्न सक्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रमको समन्वय राजबाबु श्रेष्ठले गरेका थिए ।




