| मङ्लबार, कार्तिक २४, २०८३

फुटपाथ र सडकमा ब्यापार नगर्न गोरखा प्रशासनको निर्देशन

गोरखामा फुटपाथ र सडकमा गरिने व्यापार तत्काल बन्द बन्द गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा विहिबार बसेको जिल्ला स्तरीय समन्वय वैठकले फुटपाथ र सडकमा गरिने व्यापार तत्काल बन्द गर्न र सडकमा हुने अवरोध हटाउन निर्देशन दिएको हो ।

वैठकले गोरखा जिल्लाभित्र रहेका मुख्य राजमार्ग, सहायक मार्ग र अन्य सडकहरुमा दुर्घटना न्यूनीकरण, यातायात साधनको सहज आवत जावत गर्न गराउन सडक पेटी खालि गरी पैदल यात्रीलाई सडक पेटीबाट हिड्ने व्यवस्था मिलाउनुपर्ने, तोकिएको स्थानबाहेक जथाभावी सवारी साधन पार्किङ निरुत्साहित गर्न, सो कार्यमा संलग्नलाई नियमानुसार कारबाही र जरिवाना गर्ने र सडक पेटीका साथै सडकमा नै निर्माण सामाग्री राख्न नदिने, राखेको पाइएमा कानून बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।

सडकमा परेका खाल्डा खुल्डी तत्काल पुर्ने र सडक मर्मतसम्भार गरी दुरुस्त अवस्थामा राख्नुपर्ने, घुम्ती लगायत सडक छेउमा राखिएका सडक संकेतहरु मेटिएको अवस्थामा रहेको हुँदा तत्काल अध्यावधिक गर्ने, सम्भव भएका स्थानमा सडक ऐना राख्नुपर्ने र तोकिएको भन्दा बढी तिव्र गतिमा सवारी साधन चलाउने सवारी चालकलाई नियमानुसार कारबाही र जरिवाना गर्ने वैठकले निर्णय गरेको छ ।

प्रजिअ आचार्यको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुखको उपस्थितिमा भएको राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने कारवाहीको कार्यविधि, २०७५ को दफा ७ बमोजिमको जिल्ला स्तरीय समन्वय समन्वय समितिको बैठकमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने गरी सो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्