| मङ्लबार, कार्तिक २४, २०८३

आज गोरखादेखि नेपाली सेनाको गोरखा—काठमाण्डौँँ एकिकरण पदयात्रा सुरु (फोटो फिचर)

ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले नेपाली सेनाले गोरखा—काठमाण्डौँ पदयात्रा सुरु गरेको छ । बिहिवार बिहान गोरखा दरवारदेखि सुरु भएको पद यात्रामा नेपाली सेनाको टोली सहभागी छ ।

नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो । यात्रामा सबुज गण, बर्दबहादुर गण, पुरानो गोरख गण, कालीबक्स गण, श्रीनाथ गण सहभागी छ । गोरखादेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एता दिवसका दिन हनुमान ढोका दरबारमा पुगेर टुङ्गिने रिपुमर्दन गणनका गणपति हेम विष्टले जानकारी दिए ।

राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर पूmलको माला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरबार स्थित हनुमान भञ्ज्याङबाट पदयात्रामा निस्किएका हुन् । गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट(घाटबेसी) सम्म गोरखाबाट हिँडेको टोली बिहिवार बेलुकी पुग्नेछ । पृथ्वीनारायण शाहकालिन सेना(गुरुज्यूको पल्टन)को पोशाकमा र राष्ट्रिय झण्डा र सेनाको आफ्नै झण्डासहित टर्च लाईट बोकेर बाजागाजा सहित टोली यात्रामा सहभागी छ ।

गोरखबाट हिँडेको टोलीले भिमसेन ८ घाटबेसीमा धादिङको शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछन् । धादिङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाण्डौँ पुग्ने गरी यात्रा तय भएको गणपति बिष्टले बताए ।

नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले बिगत चार बर्षदेखि एकीकरण पदमार्गको रुपमा विकास गर्दै आएको छ । अहिले चौँथो पटक सेनाले औपचारीक कार्यक्रम गरेर पदयात्रा गरेको हो ।

पदयात्रा सुभारम्भ कार्यक्रममा नेपाली सेनाका पश्चिम पृतनापती उपरथी दिपककुमार बानियाँले इतिहासको महत्व आज जति छ भोलीपनि त्यती नै हुने भएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताए । गोरखा देखि जितगढी सम्मको पदयात्राकालागि पनि सेनाले तयारी गरिरहेको बताउँदै २०८० बैशाखमा उक्त रुटमा पदयात्राको तयारी रहेको उनले बताए ।
नेपाली सेनालाई राष्ट्रिय एकता कायम गर्ने गहन जिम्मेवारी समेत रहेको बताउँदै उनले अहिलेपनि राष्ट्रिय एकताको महशुस गरिएको बताए ।

बिभिन्न किल्ला, कोट, गढी, दरवारको संरक्षण र बिर पुर्खाको योगदानको कदरकालागि पनि सेनाले बिभिन्न कार्य गर्दै आएको पश्चिम पृतनापती बानियाँले बताए । यसकालागि सेना, बिभिन्न तहका सरकार, संघ संस्था र सर्वसाधारण बिच सहकार्य जरुरी भएको उनले बताए ।

इतिहासको जर्गेना गरेर अघि बढ्दा देशलाई पनि फाईदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले पदयात्राको ‘रुट’लाई पर्यटकीय पदमार्गको रुपमा बिकास गर्नुपर्ने गोरखा नगरपालिकाका मेयर कृष्णराना मगरले बताए । साथै उनले पर्यटन प्रर्वद्धनकालागि गोरखाले ठुलो फाईदा लिन सक्ने बताए ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सेनाले सुरु गरेको इतिहासको जर्गेना गर्ने काममा सबैले साथ सहयोग गर्नुपर्ने बताए । इतिहासको संरक्षण र प्रचारप्रसारमा ध्यान दिनसके यसबाट गोरखाले धेरै फाईदा लिन सक्ने उनले बताए ।
गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुषालले पदमार्ग, पृथ्वीनारायण शाहको इतिहास र गोरखा दरवारका बारेमा जानकारी गराएका थिए ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले पदमार्गमा अन्य समयमापनि यात्राका कार्यक्रम संचालन गर्न सके झनै राम्रो हुने र प्रचार प्रसारसँगै प्रर्वद्धनमा मद्धत पुग्ने बताए ।

पदयात्रामा सहभागीहरुलाई बिदाई कार्यक्रममा जनप्रतिनिधिहरु, संघसंस्थाका प्रमुखहरु स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

उक्त पदमार्गमा गोरखातर्फ गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकाको रुट पर्छ । यात्रामा सहभागीहरुलाई ठाउँ ठाउँमा स्थानीयले फूल मालाले स्वागत गर्छन ।

हेर्नुहोस् तस्वीरहरु : 

प्रतिक्रिया दिनुहोस्