| मङ्लबार, कार्तिक २४, २०८३

संयुक्त विकासको योजना बनाउँदै पालुङटार र राइनास नगरपालिका

गोरखाको पालुङटार र लमजुङको राइनास नगरपालिकाले संयुक्त रूपमा चेपे नेदीमा ड्याम निर्माण गरी बहुउद्देश्यीय बृहत् जलाशय निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएका छन् ।

केहीदिन अघि पालुङटार नगरपालिकामा सम्पन्न भएको समन्वय बैठकले दीर्घकालीन पूर्वाधार विकासका सन्दर्भमा चेपेमा बहुउद्देश्यीय बृहत् जलाशय निर्माणको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।

दुवै पालिकाको सीमामा पर्ने चेपे नदीको उपयोग गरी आर्थिक विकास गर्ने लक्ष्यका साथ बहुउद्देश्यीय बृहत् जलाशय निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । यस्तै, चेपे नदीको संरक्षण गरी जलीय जैविक विविधता संरक्षणका लागि चेपेमा विद्युतीय करेन्ट तथा विष प्रयोग गरी माछालगायत जलचर मास्ने गतिविधि नियन्त्रण गर्न आवश्यक उपाय अवलम्बन गर्न पनि दुवै पालिका सहमत भएका छन् ।

बैठकले दुई नगरपालिकाको साझा चासोका रूपमा रहेको पर्यटकीय क्षेत्र लिगलिगकोट र राइनासकोट जोड्ने पदमार्ग बनाई चेपे करिडोर विकासको सम्भाब्यता अध्ययन गर्ने पनि निर्णय गरेको छ । दुवै पालिकाको साझा फाइदाका लागि संयुक्तघाट सञ्चालनार्थ चक्रतीर्थ धामको विकास र ल्यान्डफिल्ड साइटको अध्ययन गर्ने पनि निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

दुवै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको बैठकले एकअर्काे पालिकामा भएका असल अभ्यास अनुशरण गर्ने पनि निर्णय गरेको छ । यस्तै, गोरखाको पालुङटार नगरपालिका र तनहुँको आबुखैरेनी गाउँपालिकाले मस्र्याङ्दी जलविद्युत आयोजनाको कृत्रिम तालमा मत्स्यपालन गर्ने भएका छन् ।

दुई पालिकाको सीमाक्षेत्रमा पर्ने मस्र्याङ्दी जलविद्युत आयोजनाबाट निर्मित कृत्रिम तालमा मत्स्यपालन तथा जलपर्यटन पूर्वाधार निर्माण गरिने भएको हो ।

पालुङटार र राइनास नगरपालिका बीच भएको अन्तरपालिकास्तरीय समन्वयात्मक बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय स्रोत साधनको अत्यधिक उपयोग गरी आन्तरिक राजस्व वृद्धि तथा रोजगारी सिर्जना गर्नका लागि यस्तो निर्णय गरिएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

त्यस्तै, छलफल गर्दा दुई पालिकाले साझा फाइदाका लागि संयुक्त घाट संचालनार्थ चक्रतिर्थ धामको विकास र ल्याण्डफिड साइटको अध्यायन गर्ने बिषयमा पनि छलफल भएको छ ।

पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा बसेको पालुङटार नगरपालिका र राईनास नगरपालिकाको समन्वय बैठकमा राईनास नगरपालिका नगरप्रमुख खड्गबहादुर गुरुङ, पालुङटार नगरपालिकाकी नगर उपप्रमुख बन्दना पाण्डे, राईनास नगरपालिकाकै नगर उपप्रमुख पुष्पराज खनाल, पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, राईनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयँल, पालुङटार नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष रविन्द्र अधिकारी, राईनास नगरप्रमुख सचिवालय सचिव बालसिंह गुरुङलगाएको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्