
गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री दाहाललाई निम्तो
गोरखाबाट चुनाव जितेर प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डलाई गोरखा महोत्सवको प्रमुख अतिथि बनिदिन गोरखा उद्योग वाणिज्य संघले निमन्त्रण गरेको छ ।
संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ नेतृत्वको सो टिमले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी महोत्सवको उद्घाटन गरिदिन अनुरोध गरेको हो ।
संघले आउँदो पुसको २७ गते ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्दैछ ।
जवाफमा प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने कार्यक्रम बनाएकोे र कार्यक्रम निश्चित समयभित्र नै सम्पन्न भएका खण्डमा महोत्सवमा आउने बचन दिएको संघले जनाएको छ । अब एकदुई दिनभित्र विश्वासको मत लिने समय निश्चित हुने तर विश्वासको मत लिने समय लम्बिएमा महोत्सवमा आउन नपाउने अवस्था पनि हुन सक्ने प्रधानमन्त्रीले बताएको गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।
११ औ गोरखा महोत्सवको निम्तो दिन संघका वर्तमान अध्यक्ष श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के, महासचिव प्रकाशचन्द्र श्रेष्ठ, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतको टोली प्रधानमन्त्री निवासमा पुगेका थिए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायता मन्त्री नाराणकाजी श्रेष्ठलाई पनि निम्तो गरिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री दाहाल गत मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।
३ सय १ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९ यही पुस २७ गते देखि माघ ७ गतेसम्म हरमटारी रंगशालामा सञ्चालन हुदैछ ।




