
ठूलो आँगनमा हरेक दिन राष्ट्रनिर्माता सलामी अर्पण हुने
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा नेपाली सेनाले हरेक दिन राष्ट्रनिर्माता सलामी अर्पण गर्ने भएको छ । गोरखा सदरमुकामको ठूलोआँगनमा निर्माण भएको शाहको सालिकमा पुष २७ गतेदेखि नियमित राष्ट्रनिर्माता सलामी दिने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
गोरखा नगरपालिकाले ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण गर्ने र सो सालिकमा नेपाली सेनाले हरेक बिहान झण्डोत्तोलन तथा विगुलद्वारा विजयध्वनि बजाउने र राष्ट्रनिर्मातासलामी चढाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
मंगलबार गोरखा संग्रहालय परिसरमा गोरखा नगरपालिका र नेपाली सेनाले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्णबहादुर राना मगरले नेपालको इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जनमानसमा दीर्घकालिन रुपमा जीवन्त राख्न र राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई सदैव उचित सम्मान दिने उद्देश्यले सो कार्यक्रम आयोजन गर्न लागिएको बताए । ठूलोआँगनमा हरेकदिन विहान सुर्योदय र बेलुका सुर्याअस्तमा झण्डोत्तोलन तथा विगुलद्वारा विजयध्वनि सहितको राष्ट्रनिर्मातालाई सलामी अर्पण हुने नगरप्रमुख राना मगरले बताए ।
नेपाली सेनाको पृथ्वीनारायण शाहकालीन सेना (गुरुज्यूको पल्टन)ले सलामी अर्पण तथा परेड खेल्नेछ । विगुलद्वारा विजयध्वनि सहित राष्ट्रनिर्माता सलामी अर्पण कार्यक्रम विश्वमा बेलायत, भारती र पाकिस्तानको सिमाना बाहेक अन्य मूलुकमा नभएको र नेपालमा गोरखाले मात्र यो कार्यक्रम संचालन गर्न पाउने नगरपमुख रानाले बताए । हरेक दिन नेपाली सेनाले विहान बेलुकी परेड खेल्दा पर्यटकहरु बास बसेर हेर्न आउने उनको विश्वास छ ।
कार्यक्रमा नेपाली सेनाका रिपुमर्दन गणका गणपति हेम विष्टले इतिहासलाई जगेर्ना तथा प्रर्वद्धन गर्न र बाह्य तथा आन्तरिक पर्यटन बढाउने हेतुले सो कार्यक्रम गर्न लागिएको बताए । पुस २७ गते तीन बजे राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
नेपाल एकीकरणको उद्गम स्थल गोरखा भएको र पृथ्वीनारायण शाहको जन्म पुस २७ गते भएकाले एक दिन मात्र कार्यक्रम नगरी वर्षभरि नै राष्ट्रनिर्मातालाई सम्मान गर्न उक्त कार्यक्रम आयोजना गरिएको उनले बताए । गोरखा संग्रहालय अगाडि अहिले मनोग्राम तथा शालिक निर्माण गर्ने काम अहिले धमाधम भईरहेको छ ।




