
प्रधानमन्त्री प्रचण्डका यस्ता थिए चुनावी बाचा
गोरखा २ बाट प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका बाचा अहिले मतदाताले सम्झिरहेका छन् ।आईतवार साँझ प्रधानमन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालदेखि चिया पसल र चोकहरुमा दाहालले गरेका प्रतिवद्धता सर्वसाधारणले स्मरण गराउँदै आशावादी रहेको बताइरहेका छन् ।
दाहालले भोट माग्ने क्रममा मतदातालाई आश्वस्त पार्ने गरी कयौँ पटक भनेका थिए ‘म अहिले धेरै धुले बाटो हिँडिरहेको छु, पाँच वर्षभित्र यी सबै बाटोलाई पिच बनाउने र यहाँका जनताको जीवनमा परिर्वतन ल्याउने छु ।’ दाहालले सडक राम्रो भयो भने, चिल्लो भयो भने गाडी सलल कुद्ने बताउँदै जति गाडी छिटो दौडिन्छ विकासको गति पनि त्यति नै छिटो कुद्न सडक कालोपत्रे हुनुपर्ने बताएका थिए ।
दाहालले आफु गोरखा २ बाट चुनाव लडेपनि आफु सिङ्गो गोरखा आएको महशुस भएको बताएका थिए । ‘प्राविधिक रुपमा मेरो निर्वाचन क्षेत्र गोरखा २ हो तर मैले गोरखा आएको ठानेको छु ।’ दाहालले गोरखा २ होस् या गठबन्धन दल कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईलाई मत माग्न गोरखा १ का मतदातासँग होस् उनले गोरखा १ को बिकासका लागि पनि आफु लागिपर्ने आश्वासन बाँडेका थिए ।
दाहालको अर्को प्रमुख मुद्धा थियो १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना जसरी पनि निर्माण गर्ने । उनले आफ्नो जीवनको बाँकी समय आर्थिक क्रान्तिकालागि भएको बताउँदै भनेका थिए, ‘गोरखाको मात्र होईन सिङ्गो राष्ट्रको गौरव भएकाले यो बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ, बन्छ ।’ आयोजना निर्माण अघि बढ्नेमा यहाँका स्थानीय आशावादी छन् ।
बूढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकाल भन्छन् ‘चुनावमा प्रतिवद्धता गरेअनुसार प्रधानमन्त्रीले काम गर्नुभयो भने आयोजना बन्छ, तर जनताका सबै समस्या हल गर्नुपर्छ ।’ आयोजना निर्माण गर्दा यस अघि जनतासँग गरिएको प्रतिवद्धता, आयोजनाले गरेको सहमती कार्यन्वयन गरेर अघि बढ्नुपर्ने उनले बताए । ‘अन्यथा जनता नै प्रतिवादमा उत्रिने अवस्थापनि आउन सक्छ’, संयोजक ढकालले भने ।
दाहालले प्राथमिकताका साथ बाचा गरेका अर्को विषय हो पालुङटार एयरपोर्ट । पालुङटार एयरपोर्टलाई प्रशिक्षण केन्द्र सहित संचालन गर्ने दावी उनको थियो । तनहुँ, लमजुङ, मनाङ र गोरखालाई सहज हुनेगरी उक्त एयरपोर्ट जसरी पनि संचालन गर्ने र यसलाई पाइलट ट्रेनिङ सेण्टरका रुपमा विकास गर्ने उनले बताएका थिए ।
आफ्नै निर्वाचन क्षेत्रमा पर्ने गोरखकाली रबर उद्योग नयाँ मोडालिटी तयारी गरी संचालन गर्ने घोषणा दाहालले चुनावमा गरेका थिए । उद्योग संचालन गरेर गोरखालीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्ने उनको आश्वासन थियो । धेरैले दाहालको यो घोषणा महत्वकांक्षी रहेको बताउँदै आएका छन् । प्रधानमन्त्री बनेका दाहालले उद्योग पुन सुचारु गराउनेमा केही भने आशावादी छन् ।
बेनिघाटदेखि लार्के (रुईला नाका) सम्मको सडक सुचारु गराउने, उत्तरी गोरखामा जडिबुटी संरक्षणमा जोड दिँदै संकलन र प्रशोधन केन्द्र निर्माण गर्ने, चुमनुब्री र धार्चे गाउँपालिकालाई समेटेर स्वायत्त क्षेत्र वा अलग्गै जिल्ला घोषणा गर्न पहल गर्ने दाहालले घोषणा गरेका थिए ।
तिब्बतसँग सिमाना जोडिएका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा भन्छन्, ‘प्रधानमन्त्री गोरखा पाउनु गौरवको कुरा हो, भोट माग्दा उहाँले गरेको बाचा पूरा गर्नुहुनेछ भन्नेमा आशावादी छौँ ।’ तिब्बतसँगको नाका खोल्ने, उत्तरी दक्षिण लोकमार्ग निर्माण गर्ने, चुमनुब्रीलाई छुट्टै जिल्लाको माग समेत आफुहरुले गरेको लामाले बताए । ‘शिक्षा, स्वास्थ्य, पूर्वाधारको बिकासका लागि पनि हामीले माग गरेका थियौँ’, उनले भने, ‘दाहालले प्रतिवद्धता जनाए अनुसार भएन भने हामी फेरि स्मरण गराउनेछौँ ।’
गोरखा २ माओवादी बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईको पनि गृहक्षेत्र हो । यी दुबै नेतालाई रिझाउन पनि दाहालले उनीहरुकै सुझाब अनुसार चुनावमा बाचा गर्दै हिँडेका थिए ।
चुनावी सभामा दाहालसँगै गोरखा २ घुमेका भट्टराईले दाहाल देशको प्रधानमन्त्री बन्ने बताएका थिए । त्यसो त दाहाल आफैँले पनि आफू प्रधानमन्त्री बन्ने संकेत रहेको भन्दै मतदातासँग मत मागे । अन्ततः गोरखा २ बाट चुनाव जितेर गएका दाहाल एमालेसहितका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।




