
उत्साहित छन् प्रचण्डका ‘चिनकाङसाङबासी’ !
चुनावी दौरानमा जुन उम्मेद्वारले पनि विभिन्न प्रतिवद्धताहरु गर्नु अस्वभाविक थिएन तैपनि मुलुकको वाग्डोर सम्हाल्ने सम्भावना बोकेको व्यक्तिले व्यक्त गरेको प्रतिवद्धताप्रति गोरखा २ का बासिन्दा बढि नै आशावादी छन् ।
यहाँबाट जिताएर पठाएमा आफूले देशको नेतृत्व गर्ने आशा र भरोसा मतदातालाई दिलाएका थिए । विकास र संवृद्धिको नमूना गोरखाबाटै प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनको प्रधानमन्त्रीत्व कालमा प्रतिवद्धताले साकार रुप लिनेमा गोरखाबासी ढुक्क छन् ।

२०६४ को चुनावमा बहुमत प्राप्त गर्न सफल पार्टी विस्तारै खस्किदै गइरहेका बेला अहिले उनी प्रधानमन्त्री हुनु धेरै ठूलो अवसर र चुनौति रहेको यहाँका सचेत मतदाताहरुको टिप्पणी छ । पार्टीको जीवनका लागि धेरै काम गर्नुपर्ने अजीरकोटका सनील परियारको भनाइ छ ।

‘माओवादी सत्तामा रहिरहेर पनि मुलुकका लागि उल्लेखनीय केही काम नभइरहेका बेला उहाँ प्रधानमन्त्री हुनु भएकोे छ । यो पार्टीका लागि पनि र उहाँका लागि पनि यो अन्तिम अवसर हो’, अजीरकोटका सनील परियार भन्छन्, ‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विकासका धेरै खाकाहरु कोरिएका थिए । अब उहाँ प्रधानमन्त्री भएपछि त्यसले मूर्त रुप लिनेछ भन्ने हाम्रो आशा अपेक्षा छ । सडक धुलोमुक्त बनाउनु भनेर प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गोरखकाली रबर उद्योग पुनसञ्चालन गर्नेछु, पालुङ्टार एयरपोर्ट पुनसञ्चालन गर्नेछु, पालुङटारलाई औद्योगिक क्षेत्र बनाउँछु भनेर लिखित, मौखिक प्रतिवद्धता जनाउनु भएको छ । पक्कै गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’
साथै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न उनले उल्लेखनीय काम गर्नेमा गोरखा २ का बासिन्दा आशावादी भएको उनको भनाइ छ ।

गोरखा २ कै मतदाता सूर्य भण्डारीलाई पनि प्रचण्ड प्रधानमन्त्री बनेपछि खुशीको सीमा छैन । ‘दरौँदी करिडोर, मस्र्याङ्दी करिडोर, चेपे र बूढीगण्डकी करिडोरमा तटबन्धन र सिँचाइको व्यवस्था गरी किसानलाई उत्पादनसित जोड्नेछु भनेर उहाँले चुनाव प्रचारप्रसारमा भन्नु भएको सम्झिरहेका छौँ’, भण्डारी भन्छन्, ‘सडकलाई धुलोमुक्त बनाउनेछु भन्नु भएको छ । त्यो पनि राम्रो छ तर विकास हुन सडकले मात्रै पुग्दैन, सडकलाई उत्पादनसित जोड्नैपर्नेछ । त्यसमा उहाँले पक्कै पनि योगदान दिनुहुनेछ भन्ने हाम्रो आशा अपेक्षा छ ।’ औद्योगिक उत्पादन, कृषि उत्पादन, जडिबुटी उत्पादन र पर्यटन विकासमा जोड दिई बजारसित जोड्नुपर्ने उनको भनाइ छ ।

गोरखा २ सुगम भइकन पनि विकासका पूर्वाधारका दृष्टिले पछाडि परिरहेकाले प्रचण्डको उदयले गोरखा २ विकासमा नमूना बन्ने यहाँका मतदाताको छ । ‘उहाँले हरेक ठाउँमा भाषण गर्दा विकास र संवृद्धिको नमूना गोरखाबाट सुरु गर्छु भन्नु भएको छ’, अर्का स्थानीय गणेश सेढाईँ भन्छन्, ‘बूढीगण्डकी आयोजना निर्माणको काम, तिब्बत जोड्ने उत्तर दक्षिण सडक निर्माण, दरौँदी करिडोर, मस्र्याङ्दी करिडोर, बूढीगण्डकी करिडोरको सर्वाङ्गिण विकास गर्नुहुनेछ भन्ने आशा छ र गर्नैपर्छ पनि ।’ प्रतिवद्धता अनुसार काम नभए उहाँ र पार्टीको राजनीतिमाथि नै प्रश्नचिन्हको चुनौति सामना गर्नुपर्ने उनको भनाइ छ ।





