| मङ्लबार, कार्तिक २४, २०८३

बुङ्कोटघाटमा ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने

सहिदलखन गाउँपालिका वडा नं ९ स्थित बुंकोटघाटमा ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ हुने भएको छ । भीमवीरेश्वर गुठी व्यवस्थापन समितिको सहयोगमा नामजुङ सेवा समाजले महायज्ञ आयोजना गर्न लागेको हो ।

शहिदलखन गाउँपालिका र वडा नं ९ को वडा कार्यालयको समन्वयमा आगामी फागुन २३ गतेदेखि २९ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो ।

नामजुङ सेवा समाजले गोरखा सदरमुकाममा आइतबार पत्रकार सम्मेलनमा साताव्यापी महाज्ञप हुने बारेमा जानकारी गराएको हो । भीमवीरेश्वर महादेव मन्दिरको संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरी साताब्यापी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागिएको समाजका अध्यक्ष शिव बञ्जाराले बताए ।

भीमवीरेश्वर मन्दिरको सत्तलभित्र हुने महायज्ञमा पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचकको रुपमा रहने बञ्जराले बताए । बूढीगण्डकी डुबान क्षेत्रमा परेको मन्दिरको संरक्षण गर्नुका साथै मन्दिरको स्थानान्तरणका लागि जग्गा व्यवस्थापन गर्न, जनशक्ति माविमा संचालन भइरहेको प्राविधिक शिक्षा(फार्मेसी) लाई सहयोग पु¥याउन यज्ञ गर्न लागिएको उनले बताए ।

प्राविधिक विषयलाई दिगो रुपमा संचालन गर्न सहयोग गर्न लागिएको उनको भनाइ छ । साथै, गोरखामा विभिन्न कारणबाट आइपर्ने विपतमा परेका व्यक्तिहरुलाई सहयोग गर्न महायज्ञबाट संकलित भएका रकममध्ये केही रकम आपतकालिन राहत कोष स्थापना गरी त्यसमा जम्मा गर्ने योजना रहेको अध्यक्ष बञ्जराले जानकारी दिए ।

पत्रकारहरुसँगको भेटघाटमा पडिण्त दीनबन्धु पोखरेल यस महायज्ञलाई नेपालको इतिहाससँग जोडिएकाले गोरखाले प्रतिष्ठाको रुपमा लिएर सफल बनाउनका लागि काम गर्नुपर्ने बताए । प्रचुर पर्यटकीय सम्भावना रहेको स्थानको उजागर गर्नु, संरक्षण, प्रवद्र्धन गर्नु यज्ञको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । अहिलेसम्म ६८ जिल्लामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिसकेका बताउदै उनले यहाँको यज्ञमा यसअघि आफूले महायज्ञ गरेको ठाउँका आयोजकहरुलाई पनि निमन्त्रण गर्ने बताए ।

महायज्ञबाट संकलित रकम सबै समाजसेवामा खर्च हुने नामजुङ सेवा समाजका प्रथम उपाध्यक्ष एवं गायक दिनेश थापाले जानकारी दिए । ‘घर घरबाट उठौँ, बस्ती बस्तीबाट जुटौँ, यो महोत्सवमा कोहि पनि नछुटौँ, सक्नेले दान गरौँ, नसक्नेले थोरै दान गरौँ, केही न केही अवश्य दान गरौँ’ भन्ने मुल नारा सहित महायज्ञ हुने उनले बताए ।

भीमवीरेश्वर आध्यात्मिक महोत्सव २०७९ नाम दिएको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ का लागि १ हजार १ जनाको मूल आयोजक समिति रहने छ ।

मूल आयोजक समितिका संयोजक सुरेन्द्र थापालाई तोकिएको छ । थापा भीमवीरेश्वर महादेश गुठी ब्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । राज्य र स्थानीयले चासो नदिँदा मन्दिर हाल झन जीर्ण बन्दै गएको बताउदै भीमवीरेश्वर मन्दिरलाई पुनस्थापनाका लागि जग्गा खोजी भइरहेको उनले बताए । भीमवीरेश्वर मन्दिर बूढीगण्डकी आयोजनाका कारण डुवानमा पर्ने भएकाले स्थानान्तरण गर्न जरुरी रहेको उनले बताए ।

आयोजकका अनुसार एक हप्ता संचालन हुने महायज्ञमा २५ हजार भक्तजनको सहभागिता रहने र श्रद्वालु भक्तजनबाट २ करोड रुपैयाँ उठ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्