
गोरखा २ बाट निर्वाचित प्रचण्ड बामगठबन्धनबाट प्रधानमन्त्री बन्ने
गोरखा क्षेत्र नं. २ बाट निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न चार दलीय गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अबको प्रधानमन्त्री बनाउने निर्णय गरिएको हो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बैठकमा सहभागी ती नेताले बताए । बैठक सकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नयाँ गठबन्धन दलका शीर्ष नेताहरू सरकार गठनको दाबी गर्न राष्ट्रपति निवास शितल निवास गएका छन् ।
बालकोटमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टीका प्रमुख नेताहरूको बैठक बसेको थियो ।
दाहाल हालै सम्पन्न निर्वाचनमा गोरखा २ बाट २६ हजार १०१ मत प्राप्त गरी विजयी भएका थिए ।




