| मङ्लबार, कार्तिक २४, २०८३

मनकामनाबाट एनएमबी र फोनपेद्वारा डिजिटल वैंकिङ विशेष क्याम्पेन सुरु

एनएमबी वैँक र फोनपेले प्रसिद्ध धार्मिक स्थल मनकामनाबाट डिजिटल वैंकिङ विशेष क्याम्पेन सुरु गरेको छ । शुक्रबार एक समारोह गरी वैँक र फोनपेले क्यूआर कोडबाट आर्थिक कारोबार सुरु गरेर डिजिटल आर्थिक कारोबारको विशेष अभियान थालनी गरेको हो ।

नेपाल राष्ट्र वैँकका निर्देशक(डिजिटल प्रमुख) गुरुप्रसाद पौडेल, शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, एनएमबी वैँकका प्रमुख कार्यकारी अधिकृत सुनील केशी र फोनपेका प्रमुख कार्यकारी अधिकृत विवश सापकोटा, मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा, फोनपेका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले शुक्रबार मनकामना मन्दिरको खातामा क्यूआर कोडबाट पैसा जम्मा गरेर यो सेवाको आरम्भ गरेका हुन् ।

मोबाइलको क्यूआर कोडबाट आर्थिक कारोबार गर्दा पैसाको भौतिक प्रयोगबाट आइपर्ने झञ्झटबाट मनकामनाबासी तथा यहाँ आउने भक्तजन, पर्यटकलाई सुविधा पुग्ने राष्ट्र वैँकका निर्देशक पौडेलले बताएका थिए । पैसा बोक्नुपर्दा आइपर्ने झञ्झट, चोरिने, लुटिने त्रासबाट मुक्त हुने भन्दै उनले डिजिटल आर्थिक कारोबार ९९ दशमलब ९९ प्रतिशत सुरक्षित हुने दाबी गरेका थिए ।

त्यस्तै गाउँपालिका प्रमुख रमेश थापाले डिजिटल आर्थिक कारोबार गर्न पाउँदा खुद्रा पैसा लेनदेनमा समेत चुस्त हुने हुँदा कोही पनि ठगिनु नपर्ने र सफा कारोबार हुने बताएका थिए । पैसाको भौतिक प्रयोग गर्दा फजुल खर्च हुने हुँदा डिजिटल प्रयोगबाट फजुल खर्चबाट पनि बच्ने भन्दै उनले खुशी व्यक्त गरे । साथै उनले गाउँपालिकाको वडा नं. ४ वा ५ मा पनि एक्स्टेण्शन काउण्टर सञ्चालन गर्न सो वैँकलाई आग्रह गरेका थिए ।

मनकामनामा पनि डिजिटल आर्थिक कारोबार हुन्छ भन्ने सन्देशले यहाँ स्वदेशी तथा विदेशी भक्तजन र पर्यटक वृद्धि हुने विश्वास उद्योग वाणिज्य संघको मनकामना बजार इकाइका अध्यक्ष हरिकुमार श्रेष्ठले व्यक्त गरे । डिजिटल आर्थिक कारोबारले ठगिने, लुटिने, चोरिने लगायतका घटना न्यूनिकरण हुने भन्दै उनले मनकामना बजारमा डिजिटल वैंकिङ सेवा सुरु गरेकामा धन्यवाद व्यक्त गरेका थिए ।

मनकामनाबाट डिजिटल वैंकिङ विशेष क्याम्पियन सुरु गरेकामा मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले आभार व्यक्त गरे । मनकामनाका बासिन्दालाई पनि युग सुहाउँदो प्रविधिबाट आर्थिक कारोबार गर्ने सुविधा दिएकामा एनएमबी र फोनपेलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्