| मङ्लबार, कार्तिक २४, २०८३

टोलटोलमै पुगेर वडा कार्यालयको सेवा दिँदै वडाअध्यक्ष गुरुङ

दुर्गम भेगमा पर्ने धार्चे गाउँपालिका वडा नं. २ मा तीन ठूला टोलहरु छन्, केरौँजा, रुञ्चेत र केरौजावेशी(लामावेशी) । वडा कार्यालय केरौँजा गाउँमा छ ।

गाउँमा सडक सञ्जालले जोडेको छैन । रुञ्चेतबाट केरौँजा पुग्न हिँडिरहनेलाई डेढ नत्र, दुईघण्टासम्म लाग्छ । केरौँजावेशी(लामावेशी)बाट केरौँजा पुग्न साँढे दुईघण्टा लाग्छ ।

गाउँलेलाई वडा कार्यालयको सेवा लिन धेरै दुख नहोस् भन्ने उद्देश्यले वडा अध्यक्ष सरोज गुरुङले टोलमै पुगेर सेवा दिने गरेका छन् । ‘जुन गाउँका सेवाग्राहीको काम परेको हुन्छ, त्यहाँबाट फोन आएपछि म त्यही टोलमा गएर सेवा दिने गरेको छु’, वडाअध्यक्ष सरोज गुरुङ भन्छन्, ‘सचिव चाहिँदैन । सिफारिस लेख्न म आफैले जानेको छु । म एकजना गाउँगाउँमा गएँ भने धेरैजना गाउँलेले दुख गर्नै पर्दैन ।’ घुम्ती सेवाले वडाबासी सबै जना खुशी भएको उनको भनाइ छ ।

विशेषगरी गाउँमा नागरिकताको सिफारिस बनाउने काम धेरै हुन्छ । त्यस्तै सामाजिक सुरक्षा भत्ताको सिफारिस बनाउने, भत्ता वितरण गने, आदिवास जनजाति सिफारिस गर्ने, जन्मदर्ता, विवाह दर्ता, बसाइँ सराई दर्ताका काम पनि वडा अध्यक्ष गुरुङले टोलटोलमै पुगेर गर्ने गर्छन् ।

वडा अध्यक्ष गुरुङले गत जेठ महिनादेखि यो सेवा सुरु गरेका हुन् ।
केरौँजा गाउँमा तीनसय ५० घरधुरी छ । रुञ्चेतमा दुईसय ९० र लामावेशीमा एकसय घरधुरी छन् ।
सरोज गुरुङ रुञ्चेत गाउँबाट बनेका प्रथम वडाअध्यक्ष हुन् ।

यसअघि वडा अध्यक्ष केरौँजा गाउँका हुने गर्थे । आफू फरक गाउँबाट पहिलो पटक जितेकाले फरक तरिकाले सेवा दिएर सेवाग्राहीलाई खुशी बनाउने प्रयास गरेको उनको भनाइ छ । ‘रुञ्चेतका सेवाग्राहीचाहिँ मेरै घरमा आउँछन्’, उनी भन्छन्, ‘दिनभर मेलापातको काममा जानु पर्ने भएकाले बिहान र बेलुकी कार्यालयको सेवा लिन आउँछन् ।’ आफूले धेरथोर दुख खेपेर पनि सेवाग्राहीलाई सुख दिन र खुशी पार्न चाहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्