
शहिदलखन गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सुरु
गोरखा शहिदलखन गाउँपालिकामा शुक्रबार राष्ट्रिय परिचय पत्र विवरण संकलन अभियान सुरु भएको छ । गाउँपालिकासंगको समन्वयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय गोरखाबाट खटिएका टोलीले बिहिबारबाट कार्यक्रम सुरु गरेको हो ।
बिहिबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बरालले कार्यक्रम उद्देश्य तथा महत्व र आगामी दिनमा यसको प्रयोग बारेमा जानकारी गराएका थिए । साथै यसको प्रभावकारी कार्यान्वयका लागि गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुलाई सुचित गरी विवरण संकलन कार्यमा सहयोग गरिदिन समेत अनुरोध गरे ।

शुक्रबारबाट संचालन भएको सो अभियान १२ दिनसम्म संचालन हुने सहायक प्रजिअ बरालले जानकारी दिए । उनकाअनुसार हाल सातवटा वडामा दुईवटा स्टेशन राखी राष्ट्रिय परिचयपत्र संकलन अभियान संचालन भइरहेको छ । बाँकी दुई वटा वडामा पनि छिटै टोली तयारीमा रहेको उनले जानकारी दिए ।
कार्यक्रममा पालिका अध्यक्ष रामेशबाबु थापामगरले राष्ट्रिय परिचयपत्र संकलन अभियानमा गाउँपालिकाको पुर्ण सहयोग रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष थापामगरको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, प्रशासकीय अधिकृत हिमलाल चापागाई, वडाअध्यक्ष, वडा सचिव, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
यससंगै जिल्लामा राष्ट्रिय परिचय पत्र संकलन अभियान अन्तिम चरणमा रहेको उनले बताए । हाल गोरखाको बारपाक सुलिकोट र गण्डकी गाउँपालिकामा सो अभियान संचालन भइरहेको छ ।




