
‘जेष्ठ नागरिक समाजका मार्गदर्शक हुन्’
‘धेरै छोराछोरीले जेष्ठ नागरिकको कुरा सुन्छन् तर बुझ्दैनन् । उनीहरु जेष्ठ नागरिकको कुरा सुन्न झर्को मान्छन् । तर जेष्ठ नागरिक हाम्रो संस्कार हुन्, हाम्रो मार्गदर्शक हुन्, यो हामीले बुझ्नुपर्छ’ बुधवार गोरखा सदरमुकाममा आयोजित जेष्ठ नागरिक जिल्ला संघ गोरखाको अधिवेशनका क्रममा जिल्ला न्यायधीश तेजेन्द्रप्रसाद शर्माले भने ।
जेष्ठ नागरिकप्रति राज्यले अविभाबकत्वको दायित्व पूरा गर्नुपर्ने उनले बताए । ‘अन्न, पानी र वृद्धवृद्धा पृथ्वीका रत्नहुन्’, न्यायाधिश शर्माले भने । रत्नको अवमूल्यन गर्न नहुने बताउँदै उनले जेष्ठ नागरिकबाट अहिलेको पुस्ताले दिब्य ज्ञान लिनुपर्ने बताए । जेष्ठ नागरिकका अनुभव सुनिदिने, बुझिदिने मञ्च अहिले जरुरी रहेको बताउँदै त्यस्ता मञ्च जिल्ला संघले जुटाएको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले पश्चिमा संस्कृतिको प्रभावमा नेपालमा वृद्धाश्रम सञ्चालन गर्न नहुने र छोराछोरीले आमाबाबुलाई पालन पोषणा गर्नुपर्ने बताए । साथै उनले असहाय जेष्ठ नागरिकलाई सजिलोका लागि मात्रै वृद्धाश्रम ठिक हुने बताए ।
गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले जेष्ठ नागरिकको ज्ञान, सिप, अनुभव आदानप्रदान गर्न हरेक वडामा भेटघाट स्थल, भजन कृतन गर्ने मनोरञ्जन स्थल निर्माण गर्ने बताए । ‘जेष्ठ नागरिकले समाजमा सभ्यता र संस्कार सिकाएका छन्’, उनले भने । सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिकको उपचार लगायतका कार्यक्रम नगरपालिकाको प्राथमिकतामा परेको उनले बताए ।
जेष्ठ नागरिक रोलकबहादुर थापाले राज्यले भनेजस्तो जेष्ठ नागरिकप्रति सेवा सुविधा कागजमा मात्र सिमित भएको बताए । ‘धेरै कुरामा जेष्ठनागरिकलाई प्राथमिकता दिने भनेको छ तर त्यो ब्यवहारमा छैन’उनले भने ।
जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले नयाँ पुस्तालाई अनुभव र सिप सिकाउने गरी गतवर्षदेखि कार्यक्रम सुरु भएको बताए । ‘यस वर्ष पनि हामीले गोरखाका क्याम्पसहरुमा अनुभव, सिप आदान प्रदानका कार्यक्रम गर्दैछौँ’ उनले भने । जेष्ठ नागरिकले राज्यबाट पाउने सेवा सुविधा, हक अधिकारकालागि अहिले पनि संघर्ष गर्नु परेको तर धेरै सुनुवाई हुनबाँकी रहेको उनले गुनासो गरे ।
गोरखा नगरपालिका १३ का वडा अध्यक्ष मित्रा परियारले जेष्ठ नागरिकलाई अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा त्यसले समाज बिकास र सुधारमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताईन् । साथै उनले जेष्ठ नागरिकको सहज सुविधाका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताईन् । जेष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष दिलबहादुर बस्नेतले सम्मानपूर्वक सहज जीवन यापनका लागि जेष्ठ नागरिकलाई सबै पक्षको सहयोग जरुरी रहेको बताए ।
जेष्ठ नागरिक जिल्ला संघले गतवर्ष तीर्थयात्रा, अनुभव आदानप्रदान, पुस्ता हस्तान्तरण, जेष्ठ नागरिक सम्मानलगायत कार्यक्रम सञ्चालन गरेको सहसचिव बोधप्रसाद अधिकारीले बताए । जेष्ठ नागरिक जिल्ला संघ गोरखाको छैठौँ साधारण सभा एवं चौँथो अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीहरुले जेष्ठ नागरिक प्रतिको ब्यवहार र सेवालाई अझै सुधार गर्नुपर्ने बताए । जेष्ठ नागरिकको अनुभवलाई लिपिवद्ध गरी संग्रह गर्नुपर्नेमा सहभागीको जोड थियो । २०७० सालमा स्थापना भएको जेष्ठ नागरिक जिल्ला संघ गोरखाले त्यसयता बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।




