
चौथो एकीकरण पदयात्रा आउँदो पुस २१ गतेदेखि
ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटन विकास गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम गर्दै आएको नेपाली सेनाले आउँदो पुस २१ गतेदेखि एकीकरण पदमार्गमा पदयात्रा गर्ने भएको छ । बिगतदेखि पदयात्रा गर्दै आएको सो पदमार्गमा यसपटक चौथो पदयात्रा पुस २१ गतदेखि सुरु गर्न लागेको रिपुमर्दन गणले जनाएको छ ।
गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा नेपाली सेनाको रिपुमर्दन गणले एकीकरण पदयात्राको आयोजना गर्न लागेको हो । पदयात्रामा नेपाली सेनाका ४० जना सहभागी हुनेछन् । गोरखादेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका दिन हनुमान ढोका दरबारमा पुगेर टुङ्गिने गणपति हेम विष्टले जानकारी दिए ।
राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर पूmलको माला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरबार स्थित हनुमान भञ्ज्याङबाट पुस २१ गते हिड्नेछन् । गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट(घाटबेसी) सम्म गोरखाबाट हिँडेको टोली पुग्नेछ । पृथ्वीनारायण शाहकालिन सेना(गुरुज्यूको पल्टन)को पोशाकमा र राष्ट्रिय झण्डा र सेनाको आफ्नै झण्डासहित टर्च लाईट बोकेर नौमती बाजागाजा सहित टोली यात्रामा सहभागी हुनेछन् ।
गोरखबाट हिँडेको टोलीले भिमसेन ८ घाटबेसीमा धादिङको शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछन् । धादिङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाण्डौँ पुग्ने गरी यात्रा तय भएको गणपति बिष्टले बताए ।
नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले बिगत चार बर्षदेखि एकीकरण पदमार्गको रुपमा विकास गर्दै आएको छ ।
पुस २१ गते गोरखाबाट यसअघि जस्तै भब्य रुपमा पदयात्रा सुरु गर्ने गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका र नेपाली सेना रिपुमर्दन गणको तयारी छ । इतिहासको जर्गेना गरेर अघि बढ्दा देशलाई पनि फाईदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले पदयात्राको ‘रुट’लाई पर्यटकीय पदमार्गको रुपमा बिकास गर्नुपर्ने सोमवार गोरखा नगरपालिकामा आयोजित छलफलमा सहभागीले बताए । नगरपालिकाले यसअघि सुरु भएको पदयात्राको अभियानलाई निरन्तरता दिने नगरप्रमुख कृष्णराना मगरले बताए ।
उक्त पदमार्गमा गोरखातर्फ गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकाको रुट पर्छ । यात्रामा सहभागीहरुलाई ठाउँ ठाउँमा स्थानीयले फूल मालाले स्वागत गर्ने गरी सम्बन्धित वडाहरुसँग छलफल भइसकेको पालिकाले जनाएको छ ।




