
ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण सुरु
ठूलोआँगनमा पर्यटक भित्र्याउने भन्दै गोरखा नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने प्रक्रिया सुरु गरेको छ । नेपाली सेनासित समन्वय र सहकार्य गर्दै गोरखा नगरपालिकाले करिब २२ लाख रुपैयाँ लागतमा ठूलोआँगनको बीच भागमा सालिक राख्न लागेको हो ।
सालिक स्थापना गर्न यहाँ पुरातत्व विभागले ४० बर्षअघि बिछ्याएको ढुंगा फुटाइएको छ ।
नगरपालिकाले सालिक निर्माण गरेपछि यहाँ नेपाली सेनाले नियमित रुपमा साँझ र बिहान बिगुल बजाएर परेड खेल्ने र सलामी दिने कार्यक्रम छ ।
ठूलोआँगन क्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यसहित नगरपालिका र नेपाली सेनाले संयुक्त रुपमा यहाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
तर कतिपय स्थानीयबासीले भने पुरातात्विक सम्पदामा आँच आउने गरी नयाँ संरचना बनाउन लागेको भनेर विरोध गरेका छन् । गोरखा पार्कभित्र ठूलो क्षेत्र ओगटेर पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक स्थापना गरेको भए पनि फेरि पार्कबाहिर पनि सालिक राख्न खोजिएकोमा कतिपयको विरोध छ ।
विरोधपछि केही समय निर्माण कार्य रोकिएको थियो । विरोधको आवाज उठ्न साम्य भएपछि नगरपालिकाले सालिक निर्माण कार्य सुरु गरेको हो ।
यसअघि २०४२ सालदेखि पुरातत्व विभागले गोरखाको बसपार्कभन्दा माथि, तल्लोदरबार, ठूलोआँगनदेखि गोरखकाली मन्दिर, गोरखा दरबार क्षेत्रसम्म समेटेर पुरातात्विक क्षेत्र घोषणा गरी परियोजना लागु गरेको थियो । त्यसैअन्तर्गत तल्लो दरबारमा गोरखा संग्रहालय र आसपासका क्षेत्रलाई समेटेर गोरखा पार्क निर्माण गरेको थियो । त्यस्तै पुरातत्व विभागले पार्कभित्र पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक स्थापना गरेको छ । साथै सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस पनि गरेको छ ।
केही स्थानीयबासीले विश्व सम्पदा सूचीमा समेटिएपछि साधारण जनजीवनमा कठिनाइ हुने, पुरातत्व विभागद्वारा जारी नीति नियम पालना गर्न सहज नहुने भन्दै निरन्तर विरोध गरेपछि २०७३ सालपछि गोरखा संग्रहालयको घेरा र गोरखा दरबार क्षेत्रलाई मात्र पुरातात्विक क्षेत्र कायम गरी बाँकी क्षेत्रलाई खुल्ला गरिएको थियो ।
पुरातात्विक क्षेत्रबाट खुल्ला भएकोमा लाभ लिँदै केही स्थानीयबासीको उक्साहटमा नगरपालिकाले त्यहाँ पुरातत्व विभागले बिछ्याएको ढुंगा फुटाएर ठूलोआँगनको बीच भागमा सालिक बनाउन थालेको हो ।




