| मङ्लबार, कार्तिक २४, २०८३

ठूलोआँगनमा पृथ्वीनारायण शाहको शालिक बनाउन सुरु



पर्यटक भित्र्याउने भन्दै ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने प्रक्रिया सुरु गरिएको छ । गोरखा नगरपालिकाले करिब २२ लाख रुपैयाँ लागतमा ठूलोआँगनको बीच भागमा सालिक राख्न लागेको हो ।
सालिक स्थापना गर्न यहाँ ४० बर्षअघि छापिएको ढुंगा फुटाइएको छ ।


नगरपालिकाले सालिक निर्माण गरेपछि यहाँ नेपाली सेनाले नियमित रुपमा साँझ र बिहान परेड खेल्ने र सलामी दिने कार्यक्रम छ ।


नगरपालिका र नेपाली सेनाले संयुक्त रुपमा यहाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रमले पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ ।


तर कतिपय स्थानीयबासीले भने पुरातात्विक सम्पदामा आँच आउने गरी नयाँ संरचना बनाउन लागेको भनेर विरोध गरेका छन् । विरोधपछि केही समय निर्माण कार्य रोकिएको थियो । फेरि बैठक र छलफल गरी निर्माण कार्य सुरु गरिएको हो ।


यसअघि २०४२ सालदेखि पुरातत्व विभागले गोरखाको बसपार्कभन्दा माथि, तल्लोदरबार, ठूलोआँगनदेखि गोरखकाली मन्दिर, गोरखा दरबार क्षेत्रसम्म समेटेर पुरातात्विक क्षेत्र घोषणा गरी परियोजना लागु गरेको थियो । त्यसैअन्तर्गत तल्लो दरबारलाई गोरखा संग्रहालय, आसपासका क्षेत्रलाई गोरखा पार्क, पृथ्वीनारायण शाहको सालिक निर्माण गरेको छ । साथै सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस पनि गरेको छ ।


केही स्थानीयबासीले विश्व सम्पदा सूचीमा समेटिएपछि साधारण जनजीवनमा कठिनाइ हुने, पुरातात्विक नीति नियम पालना गर्न सहज नहुने भन्दै निरन्तर विरोध गरेपछि २०७३ सालपछि गोरखा संग्रहालयको घेरा र गोरखा दरबार क्षेत्रलाई मात्र पुरातात्विक क्षेत्र कायम गरी बाँकी क्षेत्रलाई खुल्ला गरिएको थियो ।


पुरातात्विक क्षेत्रबाट खुल्ला भएपछि यसअघि बिछ्याइएको ढुंगा फुटाएर ठूलोआँगनको बीच भागमा सालिक बनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्