
भच्चेकको सौन्दर्यकरणमा क्षति पुग्ने काम नगर्न पालिकाको निर्देशन
गोरखाको अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारको सौन्दर्यमा क्षति पु¥याउने गतिविधि नगर्न गाउँपालिकाले निर्देशन गरेको छ । बुधवार बजार अनुगमन तथा बजार क्षेत्र व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै यस्तो निर्देशन गरेको हो ।
कार्तिक २ गते बसेको गाउँपालिका र भच्चेकका व्यवसायीहरुको संयुक्त वैठकले बजारको सौन्दर्यकरण, पर्यटन प्रवद्र्धन र बजार व्यवस्थापन तथा राजस्व वृद्धि गर्न सो निर्णय गरेको जनाएको छ ।
सडक पिच भागमा पार्किङ गर्न नपाउने, रात्रिकालिन पार्किङ बसपार्कमा गर्नुपर्ने र पालिका भित्रका उद्योग व्यवासय गाउँपालिकामा अनिवार्य दर्ता नविकरण भएको हुनुपर्ने, पर्यटन तथा उद्योग कार्यालयमा तथा सम्बद्ध निकायमा दर्ता भइसकेको भए पनि गाउँपालिकामा अनिवार्य सूचिकृत गरेको हुनुपर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले बताए ।
त्यस्तै, म्याद नाघेका खाद्य बस्तु तथा निर्माण सामग्री बिक्री वितरण गर्न नपाइने, व्यवसाय दर्तामा भएको होर्डिङ बोर्ड तथा मूल्यसूची अनिवार्य राख्नुपर्ने र घरनक्सा पासको प्रावधान लागू नभएसम्म दत्तेदेखि नम्की गेटसम्म नयाँ संरचना निर्माणगर्दा अनिवार्य गाउँपालिकाको सहमति, स्वीकृत लिनुपर्ने वैठकले निर्णय गरेको प्रशासकीय अधिकृत आचार्यले बताए । सडक छेउमा सवारीसाधन धुन तथा सरसफाई गर्दा बजारमा फोहोर बढेको भन्दै रोक लगाइएको छ ।
सूचना जारी भएको मितिबाट १५ दिनभित्र सूचनामा उल्लेखित नीति, नियम पालना गर्न गाउँपालिकाले सम्पूर्ण व्यवसायी, बजारबासी तथा सम्बन्धितमा अनुरोध गरेको छ । गाउँपालिकाबाट हुने अनुगमनको क्रममा ती नियम पालन नभएको खण्डमा प्रचलित नियम कानुन बोमोजिम कारवाही गरिने गाउँपालिकाले जनाएको छ ।




