| मङ्लबार, कार्तिक २४, २०८३

बैकल्पिक ब्यबस्था नहुञ्जेल ठूलोआँगनमा सवारी साधन चल्न पाउने, स्थानीयबासी खुशी

अर्को व्यवस्था नहुञ्जेल ठूलोआँगनबाट गाडी चल्न पाउने बिषयमा गोरखा नगरपालिका र असन्तुष्ट पक्ष बीच सहमति भएको छ । आँगनको बीच भागमा सालिक बनाउने र सो क्षेत्र हुँदै सवारी साधन आवतजावत गर्न नदिने बारे गत भदौ १३ गते नगरपालिकाले निर्णय गरेपछि आक्रोशित भएका स्थानीयबासी मंगलबारको निर्णयले खुशी भएका हुन् ।

यसअघि ठूलोआँगनमा पृथ्वीनारायण शाहको शालिक तथा नेपालको नक्शा निर्माण गर्ने र सो मनोग्रामलाई पृथ्वीनारायण शाह कालीन सेना(गुरुज्यूको पल्टन)ले बिगुल बजाउँदै परेड खेल्ने र सलामी दिने कार्यक्रम गर्ने निर्णय भएको थियो ।
आवतजावत बन्द गर्ने निर्णयले समस्यामा पार्ने भन्दै आक्रोशित भएका स्थानीयबासी बैकल्पिक व्यवस्था नहुञ्जेल सवारी नरोक्ने बिषयमा मंगलबार निर्णय भएपछि खुशी भएका छन् ।

ठूलोआँगन हुँदै जाने विभिन्न बस्तीका लागि बैकल्पिक सडक खुलाउने बिषयमा नगरपालिकाले चाँडै योजना बनाउने गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले जानकारी दिए ।

‘गोरखाको पर्यटन विकास गर्न गोरखा नगरपालिकाले ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक र नेपालको नक्शा निर्माण गर्ने र त्यसलाई गुरुज्यूको पल्टनले परेड खेल्ने, बिगुल बजाउने र सलामी दिने कार्यक्रम गर्ने निर्णय भएको थियो । त्यसका बिषयमा यसअघि भएको सर्वपक्षीय भेलामा सर्वसम्मत निर्णय भएको थियो’, मेयर रानाले भने, ‘तर सवारी साधनलाई अवरोध हुने भयो भन्ने बिषयमा केही स्थानीय असन्तुष्ट थिए । तर मंगलबार लामो समय छलफल भएपछि नगरपालिकाले बैकल्पिक ब्यबस्था गर्ने र सो ब्यबस्था नहुञ्जेल सवारी साधनलाई अवरोध नगर्ने भनेर सहमति बनेको छ ।’ सहमतिपछि स्थानीयबासी खुशी भएका उनले बताए ।

सो सहमति जुटाउनका लागि मंगलबार बिहानदेखि गृहकार्य गरेको गोरखा नगरपालिका ६ का वडाअध्यक्ष राजेन्द्रकुमार जोशीले जानकारी दिए । ‘अहिले सबैजना सहमत भएका छन्’, उनले भने ।

छलफलमा सतिपिपल टोल विकास समिति, सतिपिपल युवा क्लव, नारेश्वर तथा पोखराथोक क्षेत्रका बासिन्दा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्