| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा प्राकृतिक स्रोतसाधनको दोहन रोक्न नेकपा (बहुमत) को ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी(बहुमत) गोरखाले जिल्लामा भइरहेको प्राकृतिक स्रोतसाधनको दोहन रोक्न माग गरेको छ ।

पार्टीले आइतबार विज्ञप्ति जारी गरी गोरखामा ठेकेदारमार्फत अवैध रुपमा भइरहेको ढुङगा, गिटी, वालुवा उत्खनन कार्यलाई रोक्न जिल्ला प्रशासन कार्यालय गोरखालाई ध्यानाकर्षण गराएको हो ।

गोरखा जिल्लामा रहेका खोलानदी राज्यका निकायको मिलोमत्तोमा केही बोलवाला र पहुँचवाला ठेकेदारमार्फत प्राकृतिक स्रोत साधनमा दोहन गर्ने कार्य भइरहेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘गोरखा जिल्लामा खोलानाला बर्षेनी उत्खनन भइरहेका छन् । स्थानीय जनताले राज्यलाई टयाक्स तिर्दा पनि खोलाका ढुङगा, गिटी, वालुवा सहज उपयोग गर्न नपाउने, प्रयोग गर्न खोज्दा प्रहरी प्रशासनले जनतालाई दुखद दिने कार्य भइरहेको छ भने ठेकेदारहरुले मिसिन प्रयोग गरी ढुङगा, गिटी, वालुवा उठाइरहेका छन् ।’ सो पार्टीको गोरखा जिल्ला इञ्चार्ज कमल खड्का र संयोजक नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस कार्यलाई रोक्न र जनतालाई सहज रुपले ढुङगा, गिटी बालुवा उपभोग गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यान आकर्षण गरिएको र सो कार्य नगरिएमा जनसंघर्ष गर्ने विज्ञप्तिमार्फत कडा चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्