| मङ्लबार, कार्तिक २४, २०८३

असल छिमेकीद्वारा तीन लाख ४६ हजारको बिपद् ब्यवस्थापन सामग्री सहयोग

असल छिमेकी नेपाल पोखराले गोरखामा तीन लाख ४६ हजार चार सय ३० रुपैयाँ बराबरको बिपद् ब्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । संस्थाका सचिव प्रकाश खत्रीले सोमवार एक कार्यक्रका बीच जिल्ला बिपद् ब्यवस्थापन समितिमार्फत सशस्त्र प्रहरी बल गुल्म गोरखाका गणपति सुजित बिष्टलाई उक्त सामग्री प्रदान गरेका हुन् ।

खोज तथा उद्धारमा प्रयोग हुने डोरी, हेल्मेट, चेन, फायर फाईटिङ ग्लोब्स, लाईफ ज्याकेट लगायतका सामग्री प्रदान गरिएको असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले बताए ।

उक्त सामग्री ग्रहण गर्दै सशस्त्र प्रहरी बल गुल्म गोरखाका गुल्मपति सुजित बिष्टले सुरक्षा टिमको एकल प्रयासले मात्र बिपद् ब्यवस्थापन, खोज उद्धार सम्भव नभएको बताउँदै सबैको सहकार्य हुन जरुरी रहेको बताए । साथै यस्ता सामग्रीले छिटो उद्धार गर्न सहज हुने हुँदा थप गर्दै जानुपर्ने आवश्यक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सबै बिपद् ब्यवस्थापन न्यूनिकरणकालागि सबै निकायसँग सहकार्य गर्दै आएको बताए । संघ संस्थाले दिएका, सरकारले खरिद गरेका सामग्री बेला बेला प्रयोग गरेर दुरुस्त राख्नुपर्ने बताउँदै उनले आवस्यक परेको बेला खिया लागेर थन्किएको हुन नहुने बताए ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले असल छिमेकी नेपालले दिएको सामग्रीले गोरखामा बिपद् आईपरेका बेला सहयोग पुग्ने बताए । जिल्ला समन्वय समिति उपप्रमुख लीला परियारले बिपद्को पूर्व तयारी सँधै गर्नुपर्ने बताउँदै कहिले कतिखेर बिपद् आइपर्छ भन्ने कुनै ठेगान नभएको बताईन् ।

२०७२ को बारपाक भूकम्पयता असल छिमेकी नेपाल पोखराले गोरखामा निरन्तर सहयोग गर्दै आएको असल छिमेकी नेपालका अनुगमन मूल्याङ्कन बिभागका प्रमुख दिनेश केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्