
राजनीतिक पढाइ र लडाइँका खप्पिस फणिन्द्र
पालुङ्टार नगरपालिका वडा नं. ३ राउतेपानीमा जन्मेका फणिन्द्र देवकोटा तत्कालीन नेकपा मशालका नेता वाचस्पति देवकोटाको संगतमा पुष्पित, पल्लवित भएका व्यक्तित्व हुन् । त्यसैले उनले २०४५ सालमा अमरज्योति जनता माविमा पढ्दा नेकपा मशाल संवद्ध अखिल(दशौं)को सदस्यता लिएका थिए ।
२०५२ फागुन १ गतेबाट थालिएको माओवादी सशस्त्र विद्रोहको पहिलो पोस्टर टाँस्ने राजनीतिक लडाकु देवकोटाले त्यसअघि धेरै राजनीतिक घुम्तीहरु पार गरेका थिए । एसएलसी सकेर २०४९ मा नेपाल ल क्याम्पस भर्ना भएपछि उनले अनेरास्ववियू(क्रान्तिकारी)को क्याम्पस इकाइ सदस्य, सोही क्याम्पस इकाइको सचिव, अध्यक्ष हुँदै संगठनको काठमाडौँ जिल्ला कमिटीको सदस्य बन्न सफल भएका थिए ।
विद्यार्थीको आन्दोलन मोर्चामा रहेर उनले २०५२ माघको अन्तिम दिन साँझमा आरआर क्याम्पस, ल क्याम्पस र नेपाल पुलिस क्लव एरियामा जनयुद्धको पहिलो पोस्टर टाँस्न पुगेका थिए । त्यसपछि उनी २०५३ मा नेकपा माओवादी पार्टीको संगठित सदस्य बने । विद्यार्थी संठनको पनि काठमाडौँ जिल्ला कोषाध्यक्ष, सचिव हुँदै केन्द्रीय सदस्य बन्न पुगे । माओवादीको एरिया सदस्य हुँदै काठमाडौँ जिल्ला सदस्यसमेत बनेका थिए ।
पार्टी राजनीतिमा काठमाडौँको एरिया इञ्चार्ज, उपव्यूरो सदस्य, जनमुक्ति सेनाको कमिसार हुँदै बटालियन कमिसारसमेत भएर काम गरे । त्यतिबेला धेरै युद्धमोर्चाहरुमा सहभागी बनेको अनुभव उनीसित छ । २०५९ मा पहिलो पटक सरकार, माओवादी बार्ता हुँदा डाक्टर बाबुराम भट्टराईको सचिव भएर भूमिका निर्वाह गरे भने डाक्टर भट्टराई अर्थमन्त्री हुँदा र प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिव भएर काम गरे ।
त्यसपछि पनि पार्टीको काठमाडौ कार्यालयमा रहेर काम गरे । नयाँशक्ति, समाजवादी पार्टी नेपाल, जसपा र नेसपा गठनपछि पनि केन्द्रीय कार्यालयमा रहेर कहिले उपप्रमुख र मुख्य सचिवसमेत भएर काम गरेको उनमा अनुभव छ । साथै ललितपुर जिल्ला इञ्चार्जको भूमिकामा रहेर काम गरेको अनुभव पनि उनीसित छ ।
कानूनमा स्नातक र राजनीतिक शास्त्रमा स्नाताकोत्तरसम्म अध्ययन गरेका उनीसित नेपालको राजनीतिबारे आन्तरिक तथा वाह्य लामो अनुभव छ । डाक्टर भट्टराई मन्त्री तथा प्रधानमन्त्री छँदा नजिक रहेर विकास निर्माणको कामदेखि अन्य सम्बन्ध र सरोकारका धेरै लामो अनुभव हाँसिल गरेका थिए ।
अहिले गोरखा २ को प्रदेश १ बाट गण्डकी प्रदेश सदस्यमा निर्वाचित भएपछि थप जिम्मेवारी बढेको उनको भनाइ छ । ‘बिगतमा भएको राजनीतिक अभ्यासबाट रुष्ट नेपाली नयाँपुस्ताको मन जित्ने गरी काम गर्ने मेरो पहिलो लक्ष्य छ’, उनी भन्छन्, ‘सशस्त्र युद्ध र बारम्बारको आन्दोलनबाट व्यवस्था फेरिए पनि नेपाल र नेपालीको अबस्था नफेरिएकाले अबस्था फेर्नसमेत मेरो प्रयत्न हुनेछ । नयाँ नेपाली पुस्ताप्रति राजनीतिक वितृष्णा हटाउने, भौतिक पूर्वाधार निर्माणको काममा तीब्रता दिने, स्वास्थ्य, शिक्षा, रोगजार आदिको सुनिश्चितताप्रति तल्लीन रहने मेरो लक्ष्य छ ।’ पूर्व प्रधानमन्त्री भट्टराईसित रहेर लामो समय विकासका प्रक्रियाबारे अध्ययन गरेकाले यसमा सफलता पाउने उनको विश्वास छ ।




