
गोरखाको मतगणना सुरु भएन
गोरखाको मतगणना अझै सुरु भएको छैन । मत पेटिका ओसारेर नसकिएको र एमालेले पुन मतदान गर्न माग गरेका कारण गोरखाको मतगणना सुरु हुन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
‘क्षेत्र नं. १ को चुमनुब्री गाउँपालिकाबाट मत पेटिकाहरु आइपुगेका छैनन्’, मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले भने, ‘अहिले बिहान हेलिकोप्टरले ती गाविसको २२ वटा मतदान केन्द्रबाट मतपेटिका ओसार्छ । अनि एमालेबाट आएको उजुरीको बारेमा छानविन पनि गर्नुपर्ने छ । त्यसपछि मात्र गणना सुरु हुनेछ ।’
एमालेले विभिन्न मतदान केन्द्रमा धाँधलीपूर्ण रुपमा मतदान भएको भन्दै पुन मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगमा पनि उजुरी गरेको छ ।
‘उजुरीको सन्दर्भमा के भएको हो भनेर मैले ती उहाँहरुले दाबी गर्नुभएको मतदानकेन्द्रका मतदान अधिकृतहरुलाई २४ घण्टाभित्र जवाफ दिन भनेर स्पष्टिकरण सोधेको छु’, मुख्य निर्वाचन अधिकृत शर्माले भने, ‘त्यसपछि के कस्तो वातावरण बन्छ, अनि थाहा होला ।’
गोरखामा करिब ५० प्रतिशत मत खसेको निर्वाचन कार्यालयको अनुमान छ ।




