| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका मतदान केन्द्रहरुमा धमाधम तयारी

आउँदो आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ । यहाँका तीन सय १७ मतदान केन्द्रका दुईसय २२ मतदानस्थलमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ ।


जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा शुक्रबार नै सर्वदलीय बैठक सम्पन्न भएर सूचना टाँस भइसकेको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले शनिवारसम्म सबै तयारी पूरा हुने बताए । निर्वाचन सामग्री सहित सबै कर्मचारी मतदान केन्द्र पुगिसकेको उनले बताए । जिल्ला बाहिर रहेका मतदाता मतदान गर्न गाउँ फर्किरहेका छन् । स्थिर समय सुरु भएका कारण दलका प्रचारप्रसारका गतिविधि भने ठप्प छ ।


निर्वाचन गराउन जिल्लाभर २५ सय १८ जना कर्मचारी १२ सय सात जना स्वयंसेवक खटिएका छन् । यहाँदुई सय २२ मतदानस्थल र तीन सय १७ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र समन्वय समितिमा दुईवटा अस्थायी मतदान केन्द्र रहने निर्वाचन कार्यालयका सुचना अधिकारी रबिलाल सुवेदीले बताए ।


प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल दुई लाख २२ हजार छ सय ३७मतदाता छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभाकालागि यहाँ ४९ जना उम्मेदवार छन् । केहीदलका प्रतिनिधि र स्वतन्त्रले आफ्नो उम्मेदवारी निस्क्रिय रहेको घोषणा गरेका छन् ।


निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्लाको सुरक्षा प्रबन्ध पनि चुस्त पारिएको छ । सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।


सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ । मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिनेछन् भने बाहिरी सुरक्षा घेरामासशस्त्र प्रहरी र नेपाली सेना रहनेछ ।

प्रतिक्रिया दिनुहोस्