
गोरखाका साहित्यकार सुरेश भट्टको ‘सोलीडोली’ अमेरिकामा लोकार्पण
गोरखा घर भई हाल अमेरिकामा रहेका लेखक सुरेशकुमार भट्टको हाइकु शैलीमा लेखिएको लोकवेद ‘सोलीडोली’ क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा लोकार्पण गरिएको छ । तीनहजा पाँचसय हाइकुहरु संग्रहित ‘सोलीडोली’ लायन्स क्लव अफ बर्कली लाली गुराँस, विकल्प फाउन्डेसन, समुन्द्रपारिका मन र यशोभानु साहित्य संगीत प्रतिष्ठानद्वारा हालै आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।
सो लोकार्पण समारोहमा बोल्दै कृतिकार भट्टले समाजमा विद्यमान विषयवस्तुलाई आफ्नो रचनामा समेटेको बताए । उनले कर्खा, उखानटुक्का र गाथामा पनि हाइकु मिल्ने भएकाले यसलाई जापानी शैलीको कृति मात्रै भन्नु नपर्ने तर्क गरे । पाठकलाई विषयवस्तु अनुसारको अध्ययनमा सजिलो होस भन्ने उद्देश्यले पर्वमा विभक्त गरेर रचना प्रकाशित गरिएको हाइकुकार भट्टले भने ।
नेपाली साहित्यमा पहिलो पटक शंकर लामिछानेले पारिजातद्वारा लिखित शिरिषको फूलको भूमिका लेख्दा हाइकु प्रयोग गरेको चर्चा गर्दै साहित्यकार भट्टले आफूलाई सोही समयदेखि लोकसाहित्यमा रुचि भएको र हाईकु पनि लोकसाहित्यसँग मिल्ने भएकोले यसमा योगदान गर्न सकेको बताए ।
सोली डोली कृतिमाथि टिप्पणी गर्दै युनिभर्सिटी अफ क्यालिफोर्नियाका एशोसियट प्रोफेसर डा. टिका लम्सालले हाइकुको प्रयोग नेपालको सामाजिक परिवेशमा प्रयोग गरेर समाजका विषयलाई पुस्तकाकार गर्नु कठिन काम भएको बताए ।
‘अहिले हामीले रचना पढन सजिलो छ तर अरुको विधालाई हाम्रो शैलीमा ढालेर लेख्न पक्कै सजिलो थिएन, जुन काम साहित्यकार भट्टले गरिदिनु भएको छ’, डा. लम्सालले भने । पुस्तकलाई विभिन्न पर्वमा विभाजन गरेकाले पाठकलाई छनौटमा सजिलो भएको र यसमा समावेश विषयवस्तु समेत बुझ्न कठिन नभएकोले सोली डोली सबै खालका पाठकका लागि उपयुक्त रहेको पनि उनले उल्लेख गरे ।
अमेरिकाका विभिन्न सहरहरुमा बसोबास गर्ने नेपाली समुदायका बासिन्दाको विषयमा यो पुस्तकका समेटिएको उनले बताए । कार्यक्रममा साहित्यकार भट्टलाई न्यान्सका अध्यक्ष प्रितेस कार्की, लायन्स क्लवका पूर्व गभर्नर राजेन थापा, साहित्यकार रितादेवी प्रधान, विकल्प फाउन्डेसनका अध्यक्ष निर्मल फूयाँल, यशोभानु साहित्य संगीत प्रतिष्ठानका सस्थापक नारायण भट्टराई लगायतले सम्वोधन गरेका थिए ।




