| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा निर्वाचनका लागि सबै तयारी पूरा

मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सबैभन्दा दुर्गम मानिएको चुमनुब्री गाउँपालिकाका २२ वटामध्य सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितको कर्मचारी, सुरक्षाकर्मीको टोली आज (बिहिबार) पुगिसकेका छन् । ‘आज सबै मतदान अधिकृतले सर्वदलीय, सर्वपक्षीय बैठक बसी निर्वाचनको वातावरण मिलाउनु पर्नेछ’, मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले भने, ‘सबै मतदान अधिकृतले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझेर कार्यस्थलतर्फ प्रस्थान गरिसक्नु भएको छ । बिहिबार जिल्लाका दुईसय २२ मतदानस्थल र तीनसय १७ वटै मतदानकेन्द्रका मतदान अधिकृतहरुले आवश्यक सूचना टाँस गरिसक्नु पर्ने व्यवस्था छ ।’

मतदान पूर्वको वातावरण अत्यन्त शान्त, सौहार्द र उत्साहजनक देखिएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए । ‘आजसम्म कतै कुनै अप्रिय घटना भएको छैन । अब शुक्रबारदेखि मौन अवधि सुरु हुन्छ’, उनले भने, ‘सबै राजनीतिक दल, उम्मेद्वारहरु निर्वाचन कर्मचारीहरु दिनहूँ नियमित सम्पर्कमा हुनुहुन्छ । आचार संहिता उल्लंघनका घटना छिटपुट भए पनि उल्लेख्य रुपमा छैनन् । उल्लंघन गर्नेलाई लिखित तथा मौखिक रुपमा स्पष्टिकरण सोध्ने र जवाफ लिने काम पनि भइरहेको छ ।’

उम्मेद्वार तथा सम्वद्ध दलले हरेक कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग परामर्श गरेर मात्र गरेका उनले बताए । दलहरु बीच मनमुटाव, मनमैलोको वातावरण पनि नदेखिएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।

‘अहिले जताततै निर्वाचनमय वातावरण देखिन्छ’, शर्माले भने, ‘सञ्चार क्षेत्र, निर्वाचन पर्यवेक्षक तथा मानव अधिकारकर्मीहरु पनि निर्वाचन सफल बनाउनका लागि चासोका साथ क्रियाशील हुनुहुन्छ ।’ शान्त, सभ्य र भयरहित मतदानका लागि सुरक्षा व्यवस्था चुस्त, दुरुस्त रुपमा परिचालन गरिएको उनले बताए ।

निर्वाचन शान्त रुपमा सम्पन्न गर्न जिल्लामा तीनवटा घेरामा सुरक्षा संयन्त्र परिचालन गरिएको छ । हरेक मतदान स्थलमा पाँचजना र मतदानकेन्द्र दुईवटा भए थप दुईजनाका दरले नेपाल प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । ‘मतदानकेन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, त्योभन्दा बाहिरि घेरामा सशस्त्र प्रहरीको टोली रहने छ भने त्यो भन्दा बाहिर नेपाली सेनाको टोली रहनेछ’, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने, ‘७६ ठाउँमा नेपाली सेना र २० ठाउँमा सशस्त्र प्रहरीको टोली रहेका छन् । आवश्यक परेको खण्डमा १० मिनेटभित्र पुग्ने गरी नेपाली सेना र सशस्त्र प्रहरी खटिएका छन् ।’

थप सुरक्षाकर्मीको मोबाइल गस्ती, हवाइ गस्ती र बम डिस्पोज गर्ने टिम पनि निरन्तर परिचालित भइरहने उनले बताए । ‘त्यसैले कसैको डर, धाक, धम्की, प्रलोभन र दबाबमा नपरी गोप्य मतदानद्वारा आफ्नो मताधिकार प्रयोग गर्न हाम्रो अनुरोध छ’, प्रजिअ आचार्यले भने ।
गोरखामा दुईलाख २० हजार ६३७ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्