
नागरिक अभियन्ता भन्छन्, ‘आवाज उठाउन नछाड्नुस्’
‘किला ठोक्दा एक्कै पटकमा गड्दैन । एक्कै पटकमा गड्यो भने त्यो मजबुद छैन भनेर बुझे हुन्छ । ट्वाक्, ट्वाक्, ट्वाक् ठोकिरहनु पर्छ, अवश्यै ठिक ठाउँमा गड्छ’, नागरिक अभियानका अगुवा रविराज थापाले गोरखाका नागरिक समाजलाई झक्झक्याए, ‘त्यही काम हामी गर्दैछौँ । हाम्रो काम झक्झक्याउने हो, सुनुवाइ भएन भनेर हरेस नखाऔँ । झक्झक्याइरहौँ एकदिन अवश्य सुनुवाइ हुन्छ । धेरै प्रयास गरेपछि कार्यान्वयन भएका राम्रा कुराहरु दिगो पनि हुनेछ ।’
थापा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक पनि हुन् ।
आसन्न चुनावका सन्दर्भमा गोरखाका सचेत नागरिकको विश्लेषणयुक्त आवाज सुन्न बिहिबार काठमाडौँबाट नागरिक समाजका अगुवाहरु गोरखा आएका थिए । गोरखाका प्रतिनिधिमुलक आवाज सुनेपछि अर्का अभियन्ता डाक्टर राजेश अहिराजले भने, ‘अहिले नागरिकका लागि राजनीति भएन, बरु नागरिकसंग राजनीति भयो । जबसम्म अधिवक्ताले आफूलाई कानून व्यवसायी भन्नुहुन्छ, जबसम्म न्यायधीशहरुले आफूलाई न्याय व्यवसायी भन्नुहुन्छ, तबसम्म नागरिकले न्याय पाउँदैनन् । उहाँहरुले ऐन, कानूनलाई व्यवसाय बनाउने होइन, अन्यायमा परेकालाई न्याय दिने हो ।’ प्रदेश २ का पूर्व प्रदेश प्रमुखसमेत रहेका उनले उनले सही कुरा, सही ठाउँमा राख्न हिच्किचाउन र थाक्न नहुने बताए ।
अर्का नागरिक अभियन्ता डाक्टर मदन भट्टराईले राम्रो उम्मेद्वार छानेर भोट हाल्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए । ‘तपाईहरुले आफ्नो पार्टीले जो उम्मेद्वार उठायो, त्यही उम्मेद्वारलाई भोट दिनुपर्छ भन्ने बाध्यता छैन । यसपटक राम्रा उम्मेद्वार छानेर भोट दिनुस्, जसले गर्दा अर्कोपटक तपाईँकै पार्टीले राम्रो उम्मेद्वार छानेर उठाउन बाध्य हुन्छ ।’ भट्टराई पूर्व परराष्ट्र मन्त्रालयका सचिव समेत हुन् ।
अर्का अगुवा डाक्टर द्वारिकानाथ ढुंगेलले गोरखाका नागरिकका प्रतिनिधिमुलक आवाज संकलन गरेर लैजाने र चुनाव पछिका विभिन्न समयमा यसका बिषयमा उपयुक्त बहश सञ्चालन गरिरहने बताए ।
सो कार्यक्रममा गोरखाका मोहनलाल श्रेष्ठले देशमा विद्यमान अबस्था र व्यवस्थाले चुनावमा मतदान गर्न उत्साह नभएको बताएका थिए । सुशासनका बिषयमा धेरै पटक, धेरै ठाउँमा आवाज उठाउँदा पनि कसैले सुनुवाइ नगरेकाले वितृष्णा जागेको बताएका थिए ।
त्यस्तै अर्की नागरिक समाजकी अगुवा सावित्री भट्टले राजनीतिका लागि जीवन सकेकाहरुले टिकट नपाई नेताको चाकडी गर्ने र व्यापारी, व्यवसायीले टिकट पाउने गरेको आरोप लगाइन् । ‘चाहे नेता, चाहे कर्मचारी जसले पनि देश लुटेको लुटेकै छन्’, उनले भनिन् ।
सामाजिक अगुवा धिरजबहादुर मास्केले जनताले भोट दिएर पठाएका नेताले मुलुकलाई निर्मम चुसेकाले र नैतिकता गुमाएले जनविश्वास गुमेको बताए ।
कुनै पनि व्यवस्था परिवर्तनले अबस्था परिवर्तन नभएको देख्दा आन्दोलन नै भ्रम हो कि भन्ने अनुभूति हुन थालेको अर्का नागरिक समाजका अगुवा दिलबहादुर बस्नेतले बताए । ‘२०४६ को, २०६३ को राजनीतिक परिवर्तनले व्यवस्थाबाहेक के परिवर्तन ग¥यो ?’, मानव अधिकार संगठनका अध्यक्ष बस्नेतले भने, ‘त्यसैले कहीँ क्रान्ति भनेको नै भ्रम पो रहेछ कि भन्ने वितृष्णा जाग्न थालेको छ । जनतामा चुनावप्रति पनि नैराश्य जागेको छ ।’
नागरिकका कुरा सुन्नुपर्ने नेताहरुलाई उनकै कार्यकर्ता र सुरक्षाकर्मीले घेरा हालेर बास्तविक समस्या सुन्नबाट बञ्चित गराएको भन्दै अर्का नागरिक अगुवा यदु अधिकारीले नेताहरुले आफ्नै कार्यकर्ताको घेराबाट बाहिर निस्कनुपर्नेमा जोड दिए ।
नागरिक समाजका अगुवा रमेश अधिकारीले राजनीतिक दलले नागरिक समाजको कुरा बेवास्ता गरेर अघि बढिरहेको आरोप लगाए ।
‘२०६२, २०६३ को आन्दोलनको सुरुवातमा जनताहरु सडकमा नआएपछि नागरिक समाजका अगुवाहरुलाई आन्दोलनको आयोजना गर्न लगाएका थिए । तर आन्दोलन सफल भएपछि उनीहरुका आवाज बेवास्ता हुन थाल्यो’, अधिवक्ता अधिकारीले भने, ‘नागरिक समाजका अगुवा पनि वाच–डग हुन छाडेर नेताकै शरणमा गएकाले यस्तो भएको हो ।’
कार्यक्रममा बोल्दै सरुना पोखरेलले चुनावमा नागरिक स्वतन्त्र हुन नपाएको राजनीतिक दलको दबाबमा पर्ने गरेको गुनासो गरिन् ।




