
उत्तरी गोरखाबाट मतपेटिका ओसार्न हेलिकोप्टर माग
गोरखाको चुमनुब्री गाउँपालिबाट मत पेटिका ल्याउन हेलिकोप्टर माग गरिएको छ । जिल्ला निर्वाचन ब्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका संकलनकालागि हेलिकोप्टरको माग गरेको छ ।
चुमनुब्री गाउँपालिकाको २२ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकोप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
‘चुमनुब्री सडक सञ्जालले जोडिएको छैन’, उनले भने ‘त्यहाँबाट बोकाएर ल्याउन पाँच÷छ दिन लाग्छ । मत गणना गर्न पनि ढिलो हुने भएकाले तत्काल हेलिकोप्टरबाट ल्याउने ब्यवस्था गरिदिन भनेका हौँ ।’
गृह मन्त्रालय, निर्वाचन आयोगसँग मतपेटिका संकलनकालागि हेलिकोप्टर माग गरिएको र निर्णय आउन भने बाँकी रहेको उनले बताए । चुमनुब्रीको २२ मतदान केन्द्रमध्य प्रत्येकमा संघ, प्रदेश र समानुपातिक गरी चारवटा मतपेटिका हुन्छ । हरेक केन्द्रमा एउटा मतपेटिका थप पठाइएको हुन्छ ।
कर्मचारीहरु केन्द्रमा खटिएकाले मत गणना सुरु गर्ने जनशक्ति पनि अभाव हुने हुँदा मतपेटिका सहित कर्मचारीलाई छिटो सदरमुकाम आउने ब्यवस्थाका लागि हेलिकोप्टर माग गरिएको प्रजिअ आचार्यले बताए ।
तीन सय १७ मतदान केन्द्र रहेको गोरखाको क्षेत्र नम्बर १ मा साम्दो आधारभूत विद्यालय चुमनुब्री १ सबैभन्दा टाढा ५२ कोसको दुरीमा रहेको मतदान केन्द्र हो ।




